पोखरा/ सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए।
बैठकले न्यौपानेको बढुवासहित विभिन्न चारवटा निर्णय गरेको छ।
मन्त्रिपरिषद्का चार निर्णय :
१. विश्व बैंकसँग सम्झौता गर्ने स्वीकृति
विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ मण्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ।
२. बिटौरी जग्गासम्बन्धी समिति गठन आदेश स्वीकृत
बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा समिति गठन आदेश, २०८३ स्वीकृत गरिएको छ।
३. एसियाली खेलकुदका पदक विजेतालाई पुरस्कार
२०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र करातेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ।
४. अच्युतमणि न्यौपानेको बढुवा तथा पदस्थापन
नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको छ।




