शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१९ वर्षपछि कोमामा भेटिए युवा

१९ वर्षपछि कोमामा भेटिए युवा

नेपाल आएपनि उनी अझै असक्त छन् । अर्धचेत अवस्थाका उनी अहिले पनि बेड रेस्टमा छन् । घर फर्कंदा उनकी आमा छैनन् । बाबु बहिरा छन् । केही वर्षअघि नै आमाले छाडेर गएको, घरको आर्थिक अवस्था कमजोर भएकोले उनको परिवार अहिले बिचल्लीमा छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख १ २०८३, मंगलबार

बागलुङ/वैदेशिक रोजगारीको लोभमा पर्दा धेरै युवाहरु समस्यामा पर्ने क्रम बढीरहेको छ । त्यस्तै समस्यामा पर्नेमा बागलुङको तमानखोलाका एक युवा १९ वर्षपछि मात्र घर फर्केका छन् तर असक्त भएर ।

यतिको समय उनले के काम गरे भन्ने यकिन छैन । लामो समय विदेशमा बस्दा उनले कमाएको केही रकम छैन । जाँदाको ऋणसमेत तिर्न नसक्ने अवस्थाको परिवार बनेको छ ।

बिचौलियाको लहलहैमा १९ वर्षअघि सन् २००७ मा बहराइन पुगेका तमानखोला गाउँपालिका–२ का एक युवा अहिले असक्त भएर घरमै बस्न बाध्य छन् । तमानखोला भयरबोङगाका ४१ वर्षीय श्यामकुमार घर्ती गैरकानूनी रुपमा बहराइन पुगेको ६ महिना देखिनै सम्पर्कविहिन भएपछि हालै गाउँमा आइपुगेका छन् । तर, उनी अपांग र असक्त छन् ।

उनले के कस्तो काम गरे परिवारका सदस्यले थाहै पाएनन् । छोरा बेपत्ता भए पनि बहिरा बाबु लालबहादुर घर्तीले छोराको खोजी गर्न सकेनन् । श्याम हिंडेको एक वर्षमै आमाले बाबुलाई छाडेर हिंडिन् ।

लालबहादुर लामो समयसम्म ज्याला मजदुरी गरेर गाउँमा बसिरहे । उनले छोराको थाहा पत्तो पाएनन् । गतवर्षको फागुनमा बहराइनको दूताबासबाट उनको परिवारमा श्याम कोमामा छन् भन्ने खबर आयो । परिवारले पहल गर्न नसक्ने भएपछि गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, छिमेकी जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले वैदेशिक रोजगार बोर्डमा जानकारी गराए । प्रमुख जिल्ला अधिकारीमार्फत आप्रवासी श्रोत केन्द्रकी परामर्शकर्ता गंगा शर्मा रिजालले आवश्यक कागजात दुतावासमा पठाउन सहयोग गरिन् । बागलुङ नगरपालिकाले संचालन गरेको श्रोत केन्द्रले वैदेशिक रोजगारीमा जानेलाई परामर्श दिने र समस्यामा परेकाहरुलाई ल्याउने काममा सहयोग गर्दै आएको छ ।

गैरकानूनी काममा गएकोले दूताबासले श्यामको कम्पनी भेटेन । जसका कारण बिमा, राहत वा अन्य रकम उपलब्ध गराउने बाटो भेटिएन । प्रक्रियाबारे थाहै नपाएका लालबहादुरले छोराको खोजी गर्न सकेनन् । दुतावास र कुटनीतिक नियोगमा पनि खबर नभएकोले १९ वर्षसम्म के गरेर बसे भन्ने पनि थाहा नभएको हो । जसका कारण उनको सबै क्रियाकलाप गैरकानूनी बन्दै गयो ।

पछिल्लो दुइ वर्षदेखि श्याम बिरामी परे । एक वर्षसम्म त उनी पहिचानविहीन भए । कोमामा रहेको अवस्थामा भेटिएपछि उनको उपचार त भयो तर गैरकानूनी रुपमा बसेकोले उनको उपचार खर्च समेत नेपाल सरकारले तिर्नुप¥यो । पहिचान खुलेपछि भने उनलाई नेपाल पठाइयो । नेपालमा ल्याउनका लागि बहराइनको अस्पतालमा लागेको उपचार खर्च नेपाल सरकारले तिर्न बाध्य भयो ।

नेपाल आएपनि उनी अझै असक्त छन् । अर्धचेत अवस्थाका उनी अहिले पनि बेड रेस्टमा छन् । घर फर्कंदा उनकी आमा छैनन् । बाबु बहिरा छन् । केही वर्षअघि नै आमाले छाडेर गएको, घरको आर्थिक अवस्था कमजोर भएकोले उनको परिवार अहिले बिचल्लीमा छ । दिनभर ओच्छ्यानमा परिरहेका उनलाई गाउँपालिकाले खाने, बस्ने खर्च दिएको छ । अध्यक्ष बुढाले त आफ्नै खर्चमा घरमा टिभी जोडिदिएका छन् ।

२०८१ फागुनमा दर्ता प्रक्रिया सुरु गरी कन्सुलर र दुतावासमा आवस्यक र मागे अनुसारको कागजात पठाएपछि एक वर्षमा श्याम नेपाल आइपुगे । तर उनको समस्या समाधान हुने अवस्था छैन । बहराइन दुतावासकी सुनिता थापाले गैरकानूनी अवस्थाको भएकोले उपचार खर्च समेत नेपाल सरकारले तिर्नुपरेको बताइन् । राहत र बीमा रकम उपलब्ध गराउने कुरा त गर्नै नसकेपछि स्थानीयसंग चन्दा उठाएर भएपनि उपचार कोष बनाउन पहल भएकोमा खाडी मुलुकमा भएको द्वन्द्वले असर परेको उनको भनाइ छ ।

बहराइन बागलुङ सम्पर्क समितिका महासचिव भवबहादुर कुँवरले घर फर्काउन गरेको पहलसँगै उपचार खर्च जुटाउन पनि पहल गर्ने बताए । तर खाडी मुलुकको समस्याले घर बाहिर निस्कने अवस्था नभएपछि तत्कालका लागि असर परेको उनले बताए । बहराइनमा भएको उपचार खर्चबापत नेपाल सरकारले झण्डै १५ लाख रुपैयाँ तिरेको थियो । उक्त रकम तिराउन मन्त्रिपरिषदको निर्णय गर्नुपरेको बुढाले बताए ।

‘यस्तो समस्या पर्ने हरेकलाई मन्त्रीपरिषदको निर्णय गराइरहने काम सजिलो छैन’ उनले भने, ‘वैदेशिक रोजगारीमा जाँदा कानून संवत र विधि पु¥याएर जानुपर्छ ।’ हरेक वर्ष विदेशमा मृत्यु हुनेमा अधिकांश गैरकानूनी रुपमा गएका, तोकेकोभन्दा फरक काम गर्ने, समयमा श्रम स्विकृति नविकरण नगरेकाहरु बढी छन् ।

अहिले सदरमुकामदेखि १ सय २० किमी पश्चिमको तमानखोला–२ स्थित भएरबोंङगा गाउँको घरमा उनी बाबुको साथमा बस्छन् । ‘खोजी उद्दार गरेर ल्याउन समेत समस्या भयो, हामीले पनि धेरै प्रयास गरेपछि मात्र ल्याउन सकियो, अहिले यो परिवारलाई बचाउन पनि कठिन भएको छ,’ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने, ‘अहिले पालिककै सहयोगमा उनीहरुको दैनिकी चलेको छ ।’ सधंै पालिकाले साथ दिन नसक्ने उनले बताए । मानवीयताको नाताले सहयोग गरेपनि प्रक्रियागत रुपमा अप्ठ्यारो पर्दा उनीहरुको बिचल्ली हुने संभावना रहेको बुढाले जानकारी दिए ।

गैरकानूनी काममा बसेकोले उनले के काम गरे, कति कमाए वा कमाएन् भन्ने यकिन नभएको आप्रवासी श्रोत केन्द्र बागलुङकी परामर्शकर्ता गंगा शर्माले बताइन् । ‘हामीले सुरक्षित रुपमा गाउँमा ल्याउन त सकियो, तर उनीहरुको परिवारको बिचल्ली छ,’ शर्माले भनिन्, ‘यस्तो अवस्थाका व्यक्तिलाई सहयोग गर्न अब राहत कोष बनाउन आवस्यक छ ।’ पछिल्लो समय गैरकानूनी रुपमा विदेश जानेहरु यस्तै समस्यामा पर्दै गएका छन् । उनीहरुको उपचार समेत नहुने, भएपनि नेपालबाट भराउनुपर्ने समस्या बढी छ ।

केन्द्रको तथ्यांक अनुसार चालुवर्ष गैरकानूनी रुपमा विदेशमा गएका बागलुङका मात्रै ७ जनाको मृत्यु भएको छ । १० जना श्रम स्विकृति भएकाहरुको ज्यान गएको छ । ती मध्ये एकजना महिला पनि छिन् ।

चालु वर्ष बागलुङका १ सय ३८ जना समस्यामा परेका कामदारमध्ये ५८ जनाको सकुशल उद्दार गरिएको छ । तीमध्ये २२ जनाको उद्दारमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गराएको थियो । आव २०८०÷८१ मा पनि बागलुङका १७ जना युवाको वैदेशिक रोजगारीमा मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश ४० वर्ष भन्दा कम उमेरका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी साउदी अरबमा छन् ।

आव २०८०÷८१ मा बागलुङबाट वैदेशिक रोजगारीमा गएका थप १ सय ५६ जना बिभिन्न समस्यामा परेका थिए । तीमध्ये १ सय ३७ पुरुष र १९ महिला पीडित थिए । विदेशमा जाँदा समस्यामा नपरुन भनेर केन्द्रले नियमित परामर्श सेवा दिने गरेको छ । चालु वर्ष पनि ९ हजार बढीलाई परामर्श दिइसकेको शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->