पोखरा/पोखराका मेयर धनराज आचार्यले फेवामा आश्रित जलारी समुदायलाई ताल किनारमै बस्ने व्यवस्था मिलाइने बताएका छन् । ६५ मिटरको मापदण्ड कडाइका साथ लागू गरिए पनि तालमा आश्रितलाई बिस्थापित नगर्ने उनको प्रतिवद्धता रहेको छ ।
मेयर आचार्य आइतबार पोखरा महानगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै थिए । ‘फेवाताल मापदण्ड भित्रको संरचना हटाउने काम हतारमा सुरु गरिएको होइन । यसको आवश्यक प्रक्रियाहरू पूरा गरेरै संरचना हटाउन सुरु गरेका हौँ । महानगरले यसअघि सार्वजनिक सूचनासमेत जारी गरेको थियो,’ उनले भनेका छन्, ‘महानगरले अबको केही दिनमा नै दूषित जग्गा र ६५ मिटर मापदण्डभित्र पर्ने जग्गा छुट्याएर उचित मुआब्जा र क्षतिपूर्ति दिने काम गर्छ । मापदण्डभित्र ५ सय ६६ संरचना ररहेका छन् । फेवाताल क्षेत्रमै माछा मारेर पुस्तौँदेखि आफ्नो जीवन गुजारा गर्दै आइरहेका जलारी समुदायका लागि फेवातालकै वरिपरि उनीहरूको रोजीरोटी नखोसिने तवरले महानगरले त्यसको प्रबन्ध मिलाउँछ ।’





