पोखरा/पोखराको सभागृहचोकमा भएको सिर्जना केसीको हत्या प्रकरणमा मंगलबार थप दुई जना पक्राउ परेका छन् । कास्की प्रहरीले यसअघि २ जन मुख्य प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ११ स्थायी घर भई हाल पोखरा ५ जिरो किलोमिटर बस्ने २४ वर्षीय बसन्त केसी र पर्वतको फलेवास नगरपालिका वडा नम्बर ९ घर भई हाल पोखरा १६ लामाचौर बस्ने २७ वर्षीय नवराज पौडेल क्षेत्री छन् । उनीहरू केसीका ज्वाईं र भान्जा नाता पर्ने बताइएको छ ।
पक्राउ परेका उनीहरूलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताए । यसअघि कुश्माका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र पोखराका ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको थियो।
चैत २५ गते साँझ सवा सात बजेको समयमा सभागृह चोक नजिकै रहेको शिवालय चोकमा उक्त घटना भएको थियो । पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ । सम्पत्ति विवादका कारण घटना भएको हालसम्मको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।





