बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पूर्वाधारको पर्खाइमा अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ 

पूर्वाधारको पर्खाइमा अनौठो ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ 

गुफाभित्र विभिन्न देवीदेवता, शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुर, सिङ आकृतिहरु अवलोकन गर्न सकिन्छ ।


  • ढोरपाटन संवाददाता
  • बैशाख ७ २०८३, सोमबार
म्याग्दी/ जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ पर्यटक र पूर्वाधारको पर्खाइमा छ । स्थानीयवासीले ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामाकरण गरेको गुफाभित्र अनौठा दृश्यहरु अवलोकन गर्न सकिन्छ ।
पाउद्वारका बासिन्दा जसे पुनका अनुसार दुईतले गुफाभित्र विभिन्न देवी देवता, मानिसका शरीरका अङ्ग, शिवलिङ्ग, जनावरका थुन, खुर, सिङ जस्ता आकृतिहरु अवलोकन गर्न सकिने गुफा अहिले भने ओझलमा परेको छ ।
‘गुफाभित्र भेटिने मूर्तिकारले पहाडमा चट्टान कुुँदेर बनएका विचित्रका दृश्यहरु देख्दा अनौठो लाग्छ,’ उनले भने, ‘स्थानीय स्तरमा सीमित यो गुफाको धार्मिक, ऐतिहासिक महत्वको विषयमा अध्ययन, संरक्षण, व्यवस्थापन, पूर्वाधार निर्माण र प्रवद्र्धन गरी धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पाउद्वारवासी जुटेका छौँ ।’
गणेश, शिवलगायत हिन्दू धर्मावलम्बीहरुका देवीदेवताहरुको आकृतिहरु पनि भेटिन्छ । तपतप गरेर पानी चुहिरहने गुफा करिब १० मिटर लामो भएको स्थानीयको भनाइ छ । गुफाभित्र अँध्यारो भएकाले बत्ती अथवा ‘लाइट’ बाल्नुुपर्छ ।  टेक्ने भुइँ चिप्लो र होचो भएको हुँदा अवलोकन गर्दा सावधानी अपनाउनुपर्छ । घोप्टो परेर हिँड्नुपर्छ । स्थानीयवासीबाहेक बाहिरका पर्यटकहरु हालसम्म यस गुफा अवलोकन गर्न नआएका पुनले बताए ।
पाउद्वार गाउँदेखि सवारीसाधनमा १० मिनेट र पैदलयात्रा २० मिनेट हिँडेपछि झारवाङको छेउमा रहेको गुफामा पुगिन्छ । यसअघि गुफासम्म पुग्ने पदमार्ग थिएन । निगालोको झ्याङ समाएर गुफासम्म पुग्नुपर्ने अवस्था थियो । गुफा नजिकको झारवाङखोलामा पुल थिएन ।
पाउद्वारकी पुर्जा रोकाले आमा जैसराले पाउने ‘पेन्सन’ बापतको रकम खर्चेर गुुफामा जाने करिब ३०० मिटर पदमार्ग निर्माण गरिदिएकी छन् । पदमार्ग निर्माणमा पाउद्वारवासीले श्रमदान गरेका छन् । झारवाङदेखि गुफासम्म ५०० मिटर तार तानेर विद्युत् पनि विस्तार भएको छ ।  अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु तीन लाख बजेटबाट झारवाङ खोलामा आठ मिटर लामो ‘ट्रस’ पुल निर्माण भएको छ । गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी पुनले उक्त गुफाभित्रको आकृतिहरु देखेर अनौठो महसुस भएको बताइन् ।
गुफाको विषयमा विस्तृत अध्ययन–अनुुसन्धान गरेर धार्मिक र ऐतिहासिक तथ्यहरुको खोजी थालिएको उनको भनाई छ । त्यहाँका बासिन्दाको केही दिनअघि मात्रै उक्त गुफालाई ‘पाउद्वार मुर्ताला धार्मिक गुफा’ नामाकरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->