शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

६५ चालकको लापसे जाँच १४ जना कारवाहिमा

६५ चालकको लापसे जाँच १४ जना कारवाहिमा

अभियानको क्रममा बागलुङ नगरपालिकाको मालढुंगा, काठेखोलाको अक्षते, गलकोट नगरपालिकाको हटिया र बडिगाडको ग्वालीचौर बजार क्षेत्रमा ६५ जनामा लागुऔषध किट प्रयोग गरेर चेकजाँच गर्दा १४ जना चालकमा पोजेटिभ पाईएको थियो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८३, आइतबार

बागलुङ/सवारी दुर्घटना न्यूनिकरण गर्न ग्रामिण सडकमा ट्राफिक सचेतना चलाईरहेको ट्राफिक प्रहरी कार्यालय बागलुङले सवारी चालकले लागुपदार्थ सेवन (लापसे) गरे–नगरेको चेकजाँचसंगै स्वास्थ्य परीक्षण अभियान चलाएको छ ।

अधिकांश सवारी दुर्घटना चालककै कमजोरीका कारण हुने पाईएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय र एकीकृत सेवा कार्यालय बागलुङले संयुक्त रुपमा अभियान चलाएर सडकमै सवारी रोकेर लागुपदार्थ सेवन गरे–नगरेको र स्वास्थ्य परीक्षण गर्न थालेका हुन् ।

चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटना बढी हुन थालेपछि लागूपदार्थ सेवन चेकजाँच, स्वास्थ्य परीक्षण र सचेतनामुलक स्टीकर टाँस्न थालिएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख वरिष्ठ सई मीनबहादुर कुँवरले जानकारी दिए । यो अभियानलाई जिल्लाव्यापी बनाउने ट्राफिकले योजना समेत बनाएको छ ।

अभियानको क्रममा बागलुङ नगरपालिकाको मालढुंगा, काठेखोलाको अक्षते, गलकोट नगरपालिकाको हटिया र बडिगाडको ग्वालीचौर बजार क्षेत्रमा ६५ जनामा लागुऔषध किट प्रयोग गरेर चेकजाँच गर्दा १४ जना चालकमा पोजेटिभ पाईएको थियो ।

लागुपदार्थ सेवन गरेको पाइएपछि एक इभी भ्यान, स्कारपियो, चार ट्याक्टर, चार पिकअप भ्यान, दुई मोटरसाइकल, अटो र टिपर चालकलाई नियन्त्रणमा लिएर लागुपदार्थ ऐनअन्तर्गत कार्वाही गरी छाडिएको वरिष्ठ सई कुँवरले जानकारी दिए । चालु वर्षको नौ महिनामा १५ वटा दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन् ।

चालकले मादक पदार्थ सेवन र लागुपदार्थ सेवन गरी सवारी चलाएको जनगुनासो आएपछि चेकजाँच तथा सचेतनामुलक स्टीकर टाँस्ने अभियान थालिएको कुँवरको भनाई छ । स्वास्थ्य परीक्षणलाई अभियानको रूपमा सञ्चालन गरेसँगै नियमित स्वास्थ्य चेकजाँचमा चासो नदिने सवारी चालक लाभान्वित भएको कुँवरले बताए ।

‘‘हाम्रो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरेका छौं’’ एकीकृत सेवा कार्यालय बागलुङका प्रमुख शिवप्रसाद शर्माले भने, ‘‘ट्राफिक प्रहरीसँग सहकार्य गरेर लागुऔषध नियन्त्रण गर्न संभव पनि छ ।’’ अभियानलाई निरन्तरता दिन कार्यालयले आवश्यक बजेट व्यवस्थापन गर्दै जाने शर्माको भनाई थियो ।

ट्राफिकले सवारी दुर्घटना न्युनिकरणका लागि ग्रामीण सडकमा चल्ने सवारी, चालक र यात्रुलाई सचेतना अभियान सञ्चालन गरेको छ । राजमार्गमा नियमितजसो अनुगमन गरिरहने ट्राफिकले सहायक मार्गमा सवारी चलाउने चालक, यात्री र अन्य सरोकारवालालाई सवारी दुर्घटनाबारे सचेतना अभियान चलाएको हो ।

ट्राफिकले मध्यपहाडी लोकमार्गसँग जोडिएका, कालीगण्डकी करिडोर आसपास र अन्य ग्रामीण भेगमा चल्ने सवारी साधन लक्षित सचेतना अभियान चलाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->