शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रास्वपा बागलुङको निश्कर्षः अपेक्षाभन्दा बढी मत, संगठन सशक्त

रास्वपा बागलुङको निश्कर्षः अपेक्षाभन्दा बढी मत, संगठन सशक्त

प्रत्यक्ष निर्वाचित सांसद शुसिल खड्का, सोम शर्मा र समानुपातिक सांसद गंगा छन्त्याल बैठकमा सहभागी भएनन् ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०८३, आइतबार

बागलुङ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले निर्वाचनमा अपेक्षाभन्दा बढी मत प्राप्त गरेकोमा खुशी ब्यक्त गर्दै जनतासंगको समबन्ध मजवुत बनाउन संगठनलाई सशक्त बनाउने निश्कर्ष निकालेको छ ।

गलकोटमा गत निर्वाचनको समीक्षा गर्दै रास्वपाले अपेक्षाभन्दा बढी सफलता हासिल गरेको निष्कर्ष निकालेको हो । जिल्ला समितिको बैठकले आगामी दिनमा संगठनलाई अझ सशक्त बनाउँदै जनतासँगको समबन्धलाई मजबुत बनाउने निर्णय गरेको छ ।

गलकोट नगरपालिका–३ हटियामा शनिवार बसेको जिल्ला कार्य समितिको बैठकले निर्वाचनको समग्र मूल्यांकन, संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण, आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक परिस्थितिका विषयमा गहन छलफल गर्दै सो निर्णय गरेको रास्वपाले जनाएको छ ।

पार्टीको संगठनात्मक संरचनालाई वडा तहसम्म विस्तार गरी सक्रिय र प्रभावकारी बनाउने निर्णय गरेको जिल्ला सभापति महेन्द्र खड्काले बताए । स्थानीय तहमा पार्टीको पहुँच बढाउँदै जनतासँग प्रत्यक्ष संवाद र सहकार्यलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने निर्णय भएको उनले बताए ।

जिल्लामा निर्वाचित सभासदले जनमुखी तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरू सञ्चालन गर्दै पार्टीप्रतिको विश्वासलाई थप बलियो बनाउने सल्लाह भएको छ । जिल्लामा सञ्चालन हुने सम्पूर्ण कार्यक्रमहरूलाई व्यवस्थित, प्रभावकारी र एकीकृत बनाउन जिल्ला समितिको समन्वय र निर्देशनमा सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

यसले संगठनभित्रको एकरूपता कायम गर्दै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । निर्वाचन परिणामले पार्टीप्रति जनताको आकर्षण र भरोसा बढ्दो क्रममा रहेको संकेत गरेको उनको भनाई छ ।

जिल्लामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । ती दुबै क्षेत्रमा रास्वपाले विजय हासिल गरेको छ । जसलाई पार्टीले ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ । बैठकमा सहभागी नेताहरूले उक्त सफलता संगठनको सक्रियता, जनतासँगको निकट सम्बन्ध तथा वैकल्पिक राजनीतिक शक्तिका रूपमा पार्टीप्रतिको विश्वासको परिणाम भएको बताएका थिए ।

बैठकमा आगामी दिनमा पार्टीका जनप्रतिनिधिहरूले जनताको समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । पार्टीले सभासदसँग समन्वय गर्दै स्थानीयस्तरका समस्या समाधान गर्ने, विकास निर्माणका कामलाई तीव्रता दिने तथा जनताका अपेक्षा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

रास्वपाले युवा, महिला तथा विभिन्न पेशागत समूहहरूलाई संगठनमा आबद्ध गराउँदै पार्टीको आधार विस्तार गर्ने विषयमा विशेष जोड दिएको छ । राजनीतिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राख्दै रास्वपाले जिल्लामा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

बैठकले निर्वाचनपछिको उत्साहलाई कायम राख्दै संगठन विस्तार, जनसम्पर्क मजबुतीकरण र जनउत्तरदायी कार्यक्रममार्फत जिल्लामा पार्टीको उपस्थितिलाई थप सुदृढ बनाउने मार्गचित्र तय गरेको जिल्ला सचिवालय सदस्य खिमानन्द शर्माले बताए । बैठकमा दुवै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद शुसिल खड्का र सोम शर्मा, समानुपातिक सांसद गंगा छन्त्याल भने सहभागी थिएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->