पोखरा / सुर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सांगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्धा फिर्ता भएको छ ।
कास्की जिल्ला अदालतले शुक्रबार सम्पत्ति शुद्धिकरणको मुद्धा फिर्ताको आदेश गरेको हो । जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको इजलासले माग बमोजिम हुने गरि फैसला गरेको हो । गोविन्द अधिकारीले अभियोगपत्र संशोधन गरि पाउँ भनि २०८२ माघ ८ गते रवि सहित छविलाल जोशी र गितेन्द्र बाबु राई (जिवी) समेतको सम्पत्ति शुद्धिकरणको मुद्धा फिर्ता लिन निवेदन दिएका थिए । उक्त मुद्धाको ‘माग बमोजिम हुने’ भनि रवि, छविलाल जोशीसहित जिवि राई लगायतको मुद्धा फिर्ता गर्न आदेश भएको हो ।
कास्की जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार सम्पत्ति शुद्धिकरणको मुद्धा फिर्ता भएपनि सहकारी ठगीको मुद्धा भने यथावत रहेको छ । ‘निवेदन चढेको थियो संशोधनको मुद्धा चाँहि सहकारी ठगीमात्रै रहने सम्पत्ति शुद्धिकरण र सामुहिक अपराधको मद्धा फिर्ता भयो’ उनले भने, ‘उनीहरुको माग सम्पत्ति शुद्धिकरण र संगठित अपराध नलगाउने भन्ने थियो ।’ संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्धामा दोषी देखिए पछि फिर्ता गर्न सकिने अवस्था रहने थिएन् । सोही कारण सहकारी ठगी मात्रै रहने र अन्य मुद्धा संशोधन गर्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए । सोही निवेदनको सुनुवाई हुँदै उनीहरुको पक्षमा आदेश आएको हो ।
‘अभियोगको खण्ड सहकारी ठगी बाहेक अन्यमा निकै समस्या पर्ने भएकाले माथिबाटै निवेदन आएको थियो । त्यो निवेदन सोही अनुसार भएकाले फिर्ता भएको हो’ सूचना अधिकारी किसानले थपे । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारी ठगीसँगै लामिछानेमाथि २०८१ पुसमा सम्पत्ति शुद्धीकरणको अभियोग समेत लगाएको थियो । सरकारी वकिलको कार्यालयको दाबी अनुसार, लामिछानेले सहकारीको रकम अपचलन गरेर आफू र परिवारका सदस्यले समेत लाभ लिएका थिए । कुनै कसुर गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जत समेत गरे सम्पत्ति शुद्धीकरणको अभियोग आकर्षित भएको थियो ।
रवि लगायतको समूहमाथि सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको अभियोग छ । त्यो रकम आफू अनुकूलको स्थानमा राखेको र पछि आफूले उपयोग गरेको सरकारी वकिलको अभियोग छ । अभियोगपत्रमा सहकारीको रकम अपचलनमा रविको संलग्नता भएको विस्तृत विवरण समावेश भएको थियो ।लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको थियो ।
सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा आइतबार मुद्दा दायर गरिएको थियो । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग रु ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिको थियो ।





