बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

विकासका लागि सडक सञ्जाल र पर्यटनका लागि संस्कृतिको जगेर्ना

विकासका लागि सडक सञ्जाल र पर्यटनका लागि संस्कृतिको जगेर्ना

स्थानीयको एकता, सहकार्यले पनि विकास र समृद्विको यात्रामा भरथेग गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८३, बिहिबार

बागलुङ/  बाक्ला बस्ती, मगर समुदाय बढी भएकोले सामुहिक काममा विश्वास गर्नेहरु यहाँ धेरै छन् । गाउँ पुग्दा जो–कसैलाई रमाइलो लाग्छ ।

गाउँमा कृषि उत्पादन पनि प्रसस्त देखिन्छ । घरघरै भैंसी पालेका छन् । किसानले नियमित दूध उत्पादन गरेर कमाइ पनि गरेका छन् । बाख्रा पालनमा पनि स्थानीयको सक्रियता छ । पछिल्लो समय लोप हुन लागेको कालो सुँगुर संरक्षणको अभियान नै चलाएका छन् । त्यतिलेमात्र नपुगेर यहाँ संस्कृति जोगाउने अभियान छ । महत्वपूर्ण संग्रहालय निर्माणदेखि गीत संगीतको संरक्षणमा पनि सबैको चासो बढेको देखिन्छ ।

मध्यपहाडी लोकमार्गदेखि ५ किलोमिटरमै पुग्न सकिने काठेखोला गाउँपालिका वडा नं. ४ लाई समृद्विको बाटोमा हिँडाउन वडाध्यक्ष र वडा सदस्यहरु सक्रिय छन् । उनीहरुको सक्रियतालाई वडावासीेले साथ दिएका छन् । गाउँपालिकाले पनि संघ र प्रदेशमा समन्वय गरेर यहाँ पुग्ने सडक निर्माणदेखि सबैखालका पूर्वाधार विकासमा योगदान गरेको छ । शिक्षाको गुणस्तर विकास गर्ने,स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने र सुशासन दिने काममा सबैको उत्तिकै चासो भइहेकोले समृद्व गाउँ बनाउने अभियानले पनि छिट्टै मूर्तरुप लिन सक्ने देखिएको छ ।

काठेखोला गाउँपालिका वडा नं. ४ को विकास गर्दा वडा नं. ३ र २ लाई पनि फाइदा पुग्छ । यहाँबाट पनि छिमेकी वडामा जानका लागि सहज सडकको व्यवस्था हुने भएपछि पालिकाले वडा नं. ६ देखि वडा नं. ४ जोड्ने गरी पक्की सडक निर्माण गरिरहेको छ । गण्डकी प्रदेश सरकारको ५ करोड रकमबाट पहिलोपटक सडक कालोपत्रेको काम थालिएको हो । यो सडक स्तरीय बन्दा तंग्रामवासीले नियमित बजार झर्ने काममा सहज महसुस गर्न थालेका छन् ।

यो सडक सहज बन्नुमा कालोपत्रेको मात्र हात छैन, केही वर्षदेखि थालिएको डुडियाखोला मोटरेवल पक्की पुल पनि यही मौकामा निर्माण सम्पन्न भएको छ । जसका कारण वर्षात्मा खोलाले सडक रोक्ने, हिलो धूलोले सताउने तथा खाल्डाखुल्डी, पहिरोले रोकिने डर हटेको छ ।

काठेखोला गाउँपालिकाकै समपुरक योजनाअन्तर्गत लमाङगीदेखि वडा कार्यालयसम्म ४ सय मिटरको सडक ढलान भएको छ । यो सडक ढलान भएपछि ठूलो गाउँजाने सडक आर्कषक देखिन थालेको छ । यहाँका दुई प्रमुख बस्तीमध्ये तल्लो र ठूलो गाउँमा वडा कार्यालय छ । वडा लक्षित कार्यक्रम र सडक बनिरहेकोले यो बस्तीलाई नै विकासको लहर आएझै भएको छ ।


डिजिटल सेवामार्फत सुशासनको पहल
लक्ष्मण पुन
अध्यक्ष
काठेखोला गाउँपालिका वडा नंं ४, तंग्राम

काठेखोला गाउँपालिकाले पछिल्लो समय डिजिटल फड्को मार्नेकाम गरेको छ । यो अभियान वडामा पनि पुगेको छ । सुशासनलाई प्रभावकारी बनाउन डिजिटल विधि उपयोगी छ । किनकी एउटा नागरिकले नागरिकताको सिफारिस लिन आएका खण्डमा हामीले दिने सामान्य सिफारिसलाई जिल्ला प्रशासन कार्यालयले भेरिफिकेसन गर्न चाहेमा अनलाइन विधिले सहयोग मिलेको छ । त्यसले दोहोरो पर्ने खतरा पनि टरेको छ भने जनताले पनि आफ्नो कागजातहरु डिजिटल रुपमा सुरक्षा गर्न पाएका छन् ।

विद्यालयमा शिक्षकले बफादार बनेर पढाउने, स्वास्थ्य चौकीका कर्मचारीहरुले पनि आफ्नो कामलाई तथ्यांकमा राख्ने, डिजिटल रुपमा पालिकालाई जानकारी गराउने काम गर्न सकेका छन् । पछिल्लो समय राष्ट्रिय सतर्कता केन्द्र सक्रिय बनेको छ । यो केन्द्र सक्रिय बन्दा वडा, पालिका र विभिन्न सरकारी निकायमा भए गरेका कामलाई प्रभावकारी बनाउन पाएका छन् भने सुशासनको कार्यमा सचेत बन्ने अवस्था पनि आएको छ । वडाभित्र विद्यालय कर्मचारी बाहेक अन्य सबैले डिजिटल विधि प्रयोग गर्दै आएको अवस्था छ । विद्यालयमा भने आवश्यक कर्मचारीसमेत अभाव छ ।

पछिल्लो समय सरकारले करारका कर्मचारी हटाउने नीति लिएको चर्चाले हामीलाई असर परेको छ । विशेषगरी स्वास्थ्य सेवामा करारका कर्मचारी बढी छन् भने वडा र पालिकामा पनि डिजिटल विधिको काम गर्न करारका कर्मचारीको व्यवस्था गरिएको छ । यदी करारका कर्मचारी हटेको खण्डमा वडा तहमा धरै समस्या आउने संभावना छ । हाम्रो अधिकांश कामहरु करारका कर्मचारीको भरमा चलेको छ । निजी श्रोतले उनीहरुलाई करार गर्न सकिने अवस्था छैन । जसका कारण हाम्रो काममा प्रभाव पर्ने देखियो ।

अन्त्यमा हामीले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउन बेलाबेला वृहत स्वास्थ्य शिविर पनि चलाएका छौं । नियमित उपचार सेवा एकातर्फ छ, विशेष शिविर आयोजना गर्दा आम नागरिकलाई समस्याबारे परीक्षण गर्ने, उपचार गाउँघरमै गर्ने अवसर प्राप्त भएको छ । यो वर्ष पनि स्वास्थ्य चौकीमा आउने नियमित बिरामी बाहेक २ सय ५० बढी बिरामीले वडामै विशेषज्ञ सेवा पाएका छन् । यो सेवाले नागरिकको लाखौं रकम बचतसमेत भएको छ ।


माथिल्लो बस्ती पनि बाक्लो छ । त्यहाँ जाने दुइ वटा सडक छन् । नारायणी मावितर्फको सडक स्तरीय बन्दै गर्दा तल्लो सडक पनि स्तरीय बनाएर धारा मावितर्फ जाने बनाइएको छ । सडक त पुरानो हो तर यो वर्ष बजेट राखेर स्तरीय बनाउने प्रयास भएको वडाध्यक्ष लक्ष्मण पुनले बताए । ढोलगाडे चोकदेखि काफलबोट, रदुवाखोला हुँदै धारा माविसम्म जाने सडकका लागि चालु वर्ष ३ करोड बजेट विनियोजन भएको थियो ।

यो बजेटले यो खण्डको सडक ग्राभेल भएको छ । पक्की नाली निर्माण गरेर वर्षातको पानी तर्काउन सकिने भएको छ भने सडक स्तरीय देखिन थालेको छ । यो सडक उपयोग गरेर धारा मावि त जान सकिन्छ नै धम्जा जानेहरुले पनि यो सडक उपयोग गरेका छ् । सुरक्षित र स्तरीय सडकबाट धम्जाबासी हिँड्न पाएपछि उक्त वडाबासीको पनि यो सडकमा शुभेच्छा जोडिएको छ ।

गाउँपालिकाकै योजनामा चालु वर्ष धारा माविदेखि डाँडँकटेरी चिवल्नी नमुङसम्मको बाटो स्तरोन्नती गरी बाह्रै महिना सञ्चालन गर्न सकिने बनाइएको छ । नारायणी माविमा सभाहल निर्माण, शौचालय निर्माण जस्ता काममा पालिकाले ७० लाख रुपैयाँ लगानी गरेको थियो । यो कामले विद्यालय सफाइमा योगदान पुगेको छ भने कार्यक्रमहरु सञ्चालन गर्न पनि सहज वातावरण बनेको वडाध्यक्ष पुनको भनाइ छ ।

गण्डकी प्रदेश सरकार र काठेखोला गाउँपालिकाको सह–लगानीमा धारा माविमा आकर्षक बनाउन ढुंगा छापिएको छ । यो कार्यले विद्यालयको वातावरण आकर्षक भएको छ भने विद्यार्थीलाई पनि सरसफाइ गर्न सहज भएको छ । नारायणी र धारा माविको आकर्षक भवन तथा व्यवस्थापनले अभिभावकले बालबालिकालाई गाउँमै पढाउन पहल गरिरहेका छन् ।

गण्डकी प्रदेश सरकारकै सहयोगमा झुलेनीमा पदमार्ग निर्माण गरिएको छ । झुलेनीमा स्थानीयले पर्यटक भित्र्याउन होमस्टे पनि सञ्चालन गरेका छन् भने स्थानीय समुदाय जागेर कृषि उत्पादन, बाख्रापालनलगायतका काममा सक्रिय छन् । उनीहरुको सक्रियताले स्थानीयले बेसाहा खान परेको छैन ।

गाउँमा बेलाबेला आउने पाहुनाले यो क्षेत्रको चासो र प्रचार पनि गर्छन् । पर्यटकहरु प्रायः होमस्टे बस्ने लक्ष्यले आउने गरेका छन् भने यहाँको मगर संस्कृतिले पनि लोभ्याउने गरेको छ । स्थानीयको एकता, सहकार्यले पनि विकास र समृद्विको बाटो कोरेको स्थानीयको बुझाइ छ ।

वडा नं. ४ मा खानेपानीको केही काम राम्रो भएको छ । तंग्राम खानेपानी आयोजनाअन्र्तगत भएको काम सम्पन्नको चरणमा पुगेको हो । यो आयोजनाका अधिकांश घरमा धारा जडान भैसकेका छन् भने मिटर जोड्ने काम सुरु भएको छ । ‘एक घरः एक धारा’ अभियानले पुर्णता पाउँदा सरसफाइ अभियानपनि देखिने, आम नागरिकलाई शुद्ध खानेपानीको सेवा पनि सञ्चालन गर्न सकिने अध्यक्ष पुनको भनाइ छ । तर, प्रदेश सरकारबाट आउने बजेट र क्रमागत ढीलाईका कारण कतिपय बस्तीमा खानेपानीको समस्या छ । पुरानै शैलीको खानेपानीले जनताले सास्ती खेपेका छन् ।

जेनजी आन्दोलनपछि कतिपय बजेट कटौती भएकोले ती आयोजनाहरु अलपत्र परेका छन् । तंग्रामको साबिक वडा नं. ४, ५, ६ र ७ को केही खण्डमा र वडा नं. १ को तल्लो भेगमा खानेपानीको समस्या छ । ‘एक घर, ःएक धारा’ बनाउने सपनामा बजेट अभाव छ । परम्परागत पानी भएकोले संकलन गर्ने ट्याङ्की छैनन् । सुख्खा याममा स्थानीयले समस्या भोगिरहेका छ् । वडा र पालिकाबाट पहल भएर पनि काम गर्न सकिएको छैन ।

समस्याका बाबजुद स्थानीयले धेरै मेहेनत गरेर वडालाई समृद्व बनाउने काम भने गरिरहेका छन् । विशेषगरी तंग्राम कला र संस्कृतिको धनी स्थान पनि हो । तसर्थ यहाँ गाउँमैत्री अक्षयकोष निर्माण गरी झण्डै २ करोड लागतमा जिमाक सांस्कृतिक संग्राहलय बनाइएको हो । यो भवन निर्माणमा गण्डकी प्रदेश सरकारले ५० हजार रुपैयाँ दिएको थियो भने अन्य रकम स्थानीयले जुटाएका हुन् ।

त्यस्तै तंग्राममै जनजाती संग्रहालय पनि बनाइएको छ । तर यी दुवै भवन भवनमा मात्रै सिमित भएकोले अबको श्रोत र बजेटले संग्राहलय भित्रको व्यवस्थापन, सामाग्री संकलन गरिने कार्यक्रम छ । विशेषगरी मगर समुदायका भेषभुषा, कला र संस्कृति, उनीहरुले परापुर्वकालमा प्रयोग गरेका कतिपय सामग्रीहरु संकलन गरेर राख्ने लक्ष्य पनि यहाँ लिइएको छ । यो संग्राहलयलाई वडाको गौरवको आयोजनाको रुपमा सूचिकृत गरिएको पूर्वअध्यक्ष केवश थापाले बताए ।

अघिल्लो कार्याकाल र अहिलेको कार्यकालका अध्यक्षहरुले वडाको समृद्वि, विकास र संस्कृति संरक्षणमा उत्तिकै योगदान गरेका थिए । अहिले पनि पूर्वअध्यक्ष वर्तमान अध्यक्षको काममा साथ दिने र सहकार्य गर्ने गरिरहेका छन् ।

तंग्राम शिक्षाको क्षेत्रमा अग्रणी छ । धारा माविले हरेक वर्ष शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराएर नाम राखेको छ । नारायणी माविमा पनि ८० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तिर्ण हुन्छ । दुवै विद्यालयमा भवनको पर्याप्तता छ । विद्यालयभित्र चाहिने सबै क्रियाकलापका लागि भवन, खेलमैदान लगायतको व्यवस्था छ । फर्निचरको व्यवस्थापनले पनि विद्यालयप्रति विद्यार्थी र अभिभावक सन्तुष्ट छन् ।

विद्यालयमा शिक्षक दरबन्दी पूरा गर्ने, गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको तालिम, विद्यार्थीलाई पनि अतिक्ति क्रियाकलापमा नियमित सहभागी गराउने जस्ता काम गरिएका छन् ।

स्वास्थ्य क्षेत्रको पूर्वाधारतर्फ यहाँ केही समस्या छ । तर गुणस्तर र सेवा प्रवाहमा राम्रो काम भैरहेको छ । तंग्राम स्वास्थ्य चौकी भवन पुरानो र जीर्ण भएको र सडकको पहुँचभन्दा पर रहेकोले गाउँको पाहुना घरलाई स्वास्थ्यचौकी बनाइएको छ । यो कारणले तोकेको मापदण्डमा स्वास्थ्य चौकी संचालन गर्न नसकिएको हो । अहिले पनि स्वास्थ्य चौकी भवनको हावा ढलान भएर बसेको छ । बजेट खोज्न प्रदेश र संघीय मन्त्रालय धाएर पनि नपाएपछि गत वर्ष शुन्य बजेटले काम अगाडि बढ्न सकेन ।

यो वर्ष पनि के कसो हुने हो भन्नेमा वडाबासी अन्यौलमा छन् । सेवालाई गुणस्तरीयता दिने, आएका सेवाग्राहीको तत्काल उपचार गराउने, गाउँमै सुत्केरी सेवा दिने जस्ता काम भने नियमित छन् ।

पर्यटन प्रवद्र्धनमा वडाले आफ्नो सिमित बजेट परिचालन गरेर अधिकतम सेवा प्रवाहको काम गरेको छ । आर्कषक पदमार्ग निर्माण गरेर संभावना भएका स्थानमा लगिएको छ । झुलेनीमा सवारी साधन चढेरमात्र होइन, पदमार्गबाट पनि जान सकिन्छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत पनि पदमार्ग निर्माण, पदमार्ग बनाउँदा स्थानीय ढुंगाको प्रयोग गरिन्छ । यसले मौलीकपना झल्काउने काम गर्ने त भयो नै, त्यसबाहेक स्थानीयले पनि रोजगारी पाउने अवस्था बनेको छ ।

कला र संस्कृति जोगाउने काममा तंग्रामबासी सक्रिय छन् । यहाँको ६ वटा टोलमा सोरठी नाँचको समूह छ । उनीहरुलाई आवस्यक पोशाक, तालिम र पहिचान झल्कने क्रियाकलापमा सहभागी बन्ने अवसर दिइएको छ । बेलाबेला गाउने÷बजाउने तालिम पनि गरिएकोले युवा पुस्तामा पनि सोरठी कसरी जोगाउने भन्ने भावनाको विकास गरिएको छ । दशैं, माघे सक्रान्तिलगायतका चाडपर्व, घरमा पूजा वा अन्य संस्कार संस्कृति भएको बेला पनि समुहमा गएर नाच्ने काम गरिएकोले युवा पुस्ता पनि यो संरक्षणमा जोडिएको हो ।

कृषि, पशुपालन जस्ता क्षेत्रमा वडाले विशेष काम गरेको छ । गैरसरकारी संस्थाहरुले पनि यहाँको पशुपालनमा साथ दिएका छन् । तंग्रामको कालोसुँगुर भन्ने त ब्राण्ड बनेको छ । त्यसैले धेरै किसानले कालो सुंघुर पालेका छन् । भैंसी नपाल्ने त प्रायः घर छैनन् । हरेक दिन तंग्रामका किसानले झण्डै ५ सय लिटर दूध बिक्री गर्छन् । गाउँघरमा खाने, घिउ उत्पादन गर्ने काम त भैरहेकै छ, त्यस बाहेक सिधै दूध बेच्नेहरुले पनि नियमित कमाइ गरिरहेका छन् । फापरखेतमा व्यावसायिक बाख्रा र माछापालनलगायतको व्यवसाय छ ।

अलैची उत्पादनमा पनि पछिल्लो समय तंग्रामले चासो राखेको छ । किसानहरु उत्पादनमा सक्रिय छन् । उनीहरुले उत्पादन गरेको अलैंची विदेशमा पनि पठाए । उचित मूल्य पाएर किसान खुसी समेत भएका छन् । कफी उत्पादनमा पनि अध्ययन र लगानी सुरु भएको छ । सुन्तला खेती बिस्तार भएको छ ।

बिहुँका बासिन्दाहरुले वर्षौंदेखि सुन्तलाबाट कमाइ गरेको देखेका तंग्रामबासी अब भने सुन्तला उत्पादनमा सक्रिय बनेका छन् । संघिय सरकारका नाफा परियोजनामार्फत् तंग्रामलाई पनि सुन्तला उत्पादनको क्षेत्रमा जोडेर लगिएको छ । अहिले २ वटा समूहहरु सक्रिय भैसकेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->