शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लोकतन्त्रको प्रतिबद्धताबाट कहिल्यै विमुख हुनेछैनौँ: रवि लामिछाने

लोकतन्त्रको प्रतिबद्धताबाट कहिल्यै विमुख हुनेछैनौँ: रवि लामिछाने

‘संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपुर्‍याउँदा भएका त्याग, बलिदान, संघर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ’


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८३, शनिबार

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै विमुख नहुने बताएका छन्। शनिबार चितवनको भरतपुरमा बसेको रास्वपा केन्द्रीय समितिको अन्तिम बैठकको प्रारम्भ गर्दै सभापति लामिछानेले लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताए। उनले आन्तरिक लोकतन्त्रमा पनि जोड दिए।

‘पार्टीको आन्तरिक लोकतन्त्र हाम्रा लागि असाध्यै महत्त्वपूर्ण कुरा हो,’ बैठकको सुरुवातमा केन्द्रीय समितिलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउनका निम्ति संस्थापक सभापतिका रुपमा कति भूमिका निर्वाह गर्न सके सकिन, यहाँहरूले मूल्यांकन गर्नु पर्ने विषय होला।’

उनले आन्तरिक लोकतन्त्र र निष्ठामा जोड दिए। यसमा आफू राजनीतिक जीवनभर खरो उत्रिने प्रतिबद्धता जनाए। ‘मेरा लागि निष्ठा र आन्तरिक लोकतन्त्र त्यो कुनै कम्प्रोमाइज गर्ने विषय होइन। मैले यसमा कहिले पनि कम्प्रोमाइज नगर्ने प्रतिबद्धता प्रकट गरेको छु,’ लामिछानेले भने, ‘जतिसक्दो खरो उत्रिने प्रयास आफ्नो राजनीतिक जीवनभरी गरिरहने गर्नेछु।’

सम्बोधनका क्रममा सभापति लामिछानेले देशमा अहिलेसम्म भएका परिवर्तनको स्मरण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र गर्व गर्ने विषय भएको बताए। ‘संघीय लोकतान्त्रिक गणतन्त्र, विभिन्न परिवर्तन, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपुर्‍याउँदा भएका त्याग, बलिदान, संघर्षहरूको सम्मानको जगमा हामी उभिएका छौँ र हामीलाई यसमा गर्व छ,’ लामिछानेले भने।

उनले अहिलेसम्म भएका बलिदानीकै कारण आफूहरू यो अवस्थामा आइपुगेको जिकिर गरे। ‘हामी गर्वका साथ यो परिवर्तनको संघारमा उभिएका छौँ। हिजोको त्याग र बलिदानीको उचाइँको काँधमा उभिएको हुनाले, बस्न पाएको हुनाले नै हामी यति फराकिलो दृश्य देख्न पाइरहेका छौँ,’ उनले भने।

अहिलेसम्म भएका सबै परिवर्तन र लोकतन्त्रप्रति रास्वपा र आफ्नो प्रतिबद्धता रहेको उनले सुनाए। ‘यी मूल्य र मान्यताहरू, लोकतन्त्रको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुनेछैनौँ। म कहिल्यै विमुख हुनेछैन,’ लामिछानेले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->