शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एउटै मञ्चबाट रवि बालेनले मेटेको शंका

एउटै मञ्चबाट रवि बालेनले मेटेको शंका

रविले वालेन्द्रलाई प्रधानमन्त्री बनाउन आफूले ठूलो छाती बनाएको जिकिर गरे । पदको लडाइँमा आफू नभएको बताउँदै कहिलेकाहीँ ठूलो मन बनाएर पद छाड्दा पनि आफूहरूमाथि स्वार्थपूर्ण दृष्टिले हेरिएको उल्लेख गर्दै यस्तो नगर्न र शंका नगर्न आग्रह गरे ।


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८३, सोमबार

पोखरा/आइतबार चितवनमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक पहिलो अधिवेशनको उद्धाटन ग¥यो । पार्टी स्थापना भएको चार वर्षमै ऐतिहासिक सफलता प्राप्त गरेपछि अहिले रास्वपाको एकल सरकार छ ।

सरकार बनेतापनि रास्वपाका दुई नेता रवि र बालेनका बिच सम्बन्ध सुमधुर नरहेको अनेकन चर्चा, शंका र उपशंका पनि चले । तर, आइतबार एउटै मञ्च शेयर गर्दै उनीहरुले ती शंकालाई मेट्दै सरकार पाँच वर्ष चल्ने सन्देश पनि दिए ।

बालेनले संसदमा सोधिएका प्रश्नको उत्तर पनि दिए । प्रतिपक्षमा रहेका दलहरुले शंकासहितको सुझाव दिए ।

उद्धाटनमा नेकपा एमाले र नेपाली कांग्रेसले सरकारको काममाथि शंका गरेका थिए । विगतका राजनीतिक परिवर्तनको स्मरण गर्दै प्रदीप ज्ञवालीले सरकारको गाडी दुर्घटनामा पर्न सक्ने संकेत गरे । उनले सम्बोधन गर्दा रास्वपा कार्यकर्ताले आपत्तिजनक शैलीमा हुटिङ पनि गरे ।

उनले एउटा गाडीमा एक्सिलेटर र ब्रेकर सँगै राखेर हिँड्नुपर्ने बताउँदै सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीलाई विगतका अन्य राजनीतिक दलहरूको अनुभवबाट सिकेर काम गर्न सुझाव दिए ।

ज्ञवालीले सरकारको नियतमाथि प्रश्न उठाउँदा महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूले समेत ‘नो, नो’ भन्दै विरोध गरेको देखिन्थ्यो ।

रवि र बालेन्द्रबीच दरार आएको विषयमा पनि विपक्षीले शङ्का गर्दा एमाले नेता ज्ञवालीले त्यस्तो नहोस् भन्ने आग्रह गरे ।

कांग्रेसका सभापति गगन थापाले सरकारमाथि निकै सशक्त प्रहार गरे । उनले विगतमा दुई तिहाइ ल्याएका सरकारहरूले पनि विनम्रता, विवेक र आत्मआलोचना नगर्दा समाप्त भएको उदाहरण दिँदै त्यस्तो बाटोमा नलाग्न सुझाव दिए ।

गगनले विगत १०–१२ वर्षमा आफ्नो पार्टीले गरेका गल्तीका कारण आफ्नो शिर निहुरिएको स्वीकार गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले यस्तो गल्ती नगर्नुपर्ने भन्दै बहुमत प्राप्त भएपछि अरूका कुरा नसुन्ने र आफू मात्रै चोखो हुँ भन्ने प्रवृत्ति त्याग्नुपर्ने सुझाव दिए ।

गगनले यति मात्रै भनेनन्, कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको शत्रु नभई प्रतिस्पर्धी पार्टी भएको बताउँदै राष्ट्रिय मुद्दाहरूमा सहयोग गर्नुपरे तयार रहेको उल्लेख गरे ।

गगन र प्रदीपसँगै नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पनि सरकार पाँच वर्ष टिक्ने–नटिक्ने विषयमा शंका व्यक्त गरेका थिए ।

विगतमा नेताहरूबीचको टकरावका कारण नेकपाको सरकार ढलेको स्मरण गराउँदै उनीहरूले नेतृत्वबीच टकराव पर्दा सरकार दुर्घटनामा परेको उदाहरण दिएका थिए ।

सत्ताको उन्माद र पदको लोभका कारण विगतमा पार्टीहरू फुटेर दुईतिहाइको सरकारसमेत ढलेको स्मरण गराउँदै गगन, प्रदीप र वर्षमानले विगतबाट पाठ सिक्दै राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्नुपर्ने बताएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि बाहिरी रूपमा केही शङ्का उब्जाउने अवस्था देखिएकाले त्यस्तो नहोस् भन्ने शुभकामना उनीहरूले दिएका थिए ।

सुरुमा बोलेका प्रधानमन्त्रीसमेत रहेका बालेन शाहले सरकार पाँच वर्ष टिक्ने भएकाले कुनै पनि अवस्थामा ब्रेक नलाग्ने बताए । गाडीमा ब्रेक लागे पनि पाँच वर्ष सरकार सञ्चालन भएर निर्वाचनसम्म चल्ने संकेत उनको थियो ।

पार्टीभित्र कुनै गुट–उपगुट नभएको सङ्केत गर्दै उनले गुट–उपगुटका नाममा सरकार र पार्टीलाई धक्का पुग्ने काम नगर्न सुझाव दिएका थिए ।

विपक्षीलाई बालेनले भने, ‘ढुक्क हुनुहोस्, पाँच वर्षसम्म कुनै ब्रेक लागेर गाडी दुर्घटनामा पर्दैन । हामी देश बनाउन आएका हौँ, देश बनाएरै छाड्छौँ ।’

उनले थपे, ‘हामीबीच कुनै मनमुटाव छैन, शङ्का नगरिदिनुहोला । विगतमा तपाईंहरूले जुन प्रकारको राजनीतिक संस्कार देखाउनुभएको थियो, त्यो बाटोमा हामी छैनौँ ।’

अन्तिममा रविले वालेन्द्रलाई प्रधानमन्त्री बनाउन आफूले ठूलो छाती बनाएको जिकिर गरे । निरन्तर त्याग–तपस्या गरेको उनले स्मरण गरे । पदको लडाइँमा आफू नभएको बताउँदै कहिलेकाहीँ ठूलो मन बनाएर पद छाड्दा पनि आफूहरूमाथि स्वार्थपूर्ण दृष्टिले हेरिएको उल्लेख गर्दै यस्तो नगर्न र शंका नगर्न आग्रह गरे ।

आफ्नो नियत र काममा कुनै खोट नभएको बताउँदै चार वर्षमा पुराना राजनीतिक दलहरूले आफूमाथि प्रतिशोध साँधेर विभिन्न जेलमा कोच्ने प्रयत्न गरे पनि जनताले निर्वाचनमार्फत ती दलहरूलाई गतिलो सन्देश दिएको रविको प्रष्टीकरण थियो ।

उनले अरू दलहरूसँग सम्बन्ध सुधार हुँदै गए पनि नेकपा एमाले र नेपाली कांग्रेसबीच खाडल रहेको संकेत गरेका थिए । ती खाडलहरू यथावत् रहँदा जनतालाई नै समस्या पर्ने भन्दै ती खाडल पुर्न आफूहरू तत्पर रहेको रविको सन्देश थियो । उनले दुई ठूला पार्टीमा रहेको विवाद पनि मिल्नुपर्ने बताए ।

रविले पाँच वर्षसम्म सरकारमा कुनै ब्रेक नलाग्ने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक तथा विपक्षी दलहरूलाई ढुक्क भएर सरकार र पार्टीको नियतमाथि शंका नगर्न आग्रह गरे ।

दुवै नेता राष्ट्रियताको विषयमा पनि बोले । रविले पाँच वर्षसम्म बालेनलाई प्रधानमन्त्रीकै रूपमा निरन्तरता दिने संकेत सुनाए । बालेनले भने यस विषयमा कुनै सांकेतिक टिप्पणी गरेनन् । उनले देश बनाउन आफूहरू एक भएको भन्दै पूरा गरेरै छाड्ने वाचा गरे ।

रविले चार वर्षे इतिहासमा पार्टीले ठूलो उपलब्धि हासिल गरेकाले यसलाई नेपाली जनताको आशीर्वादका रूपमा लिँदै आफ्ना गतिविधि अगाडि बढाउने वचन दिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि नै दोहोरिने लगभग पक्का छ । वरिष्ठ नेता बालेन्द्रबाहेक अन्य थुप्रै पदाधिकारीमा सर्वसम्मतिको प्रयास हुने संकेत रविले गरे ।

९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुने र अन्य पदहरूमा मिलेसम्म सर्वसम्मति गर्ने प्रयास हुँदा जसले जिते पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताले जित्ने संकेत रविले गरेका थिए ।

रविले आफ्ना महाधिवेशन प्रतिनिधिलाई जित्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताले जित्ने र हार्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताले हार्ने भएकाले ठूलो मन बनाएर आफूजस्तै भइदिन आग्रह गरे ।

पार्टीमा निर्वाचनपछि ‘यो व्यक्ति’, ‘त्यो व्यक्ति’, ‘यो गुट’ वा ‘त्यो गुट’ भन्ने कुरा नआओस् भनेर विधान पनि त्यसअनुसार बनाइएको स्मरण गराउँदै रविले पार्टीले समानुपातिकता र समावेशिताको बाटोलाई कहिल्यै नछोड्ने उल्लेख गरे ।

बालेनले पनि पहिलो ऐतिहासिक महाधिवेशनले एकताको सन्देश दिनुपर्ने बताउँदै नेता–नेताबीच पदीय जिम्मेवारीका कारण कुनै पनि मनमुटाव हुने स्थिति आउन नहुने उल्लेख गरे ।

उनले अहिलेका सबै महाधिवेशन प्रतिनिधि पनि प्रधानमन्त्रीसरह भएको, राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्ने व्यक्ति पनि प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति सरह भएकाले यो पद आफू नै हो भनेर नठानिदिन आग्रह गरे ।

पार्टीलाई बलियो बनाउन थुप्रै त्याग र केही जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै उनले आगामी दिनहरूमा पनि पदीय जिम्मेवारी आउने कुरामा महाधिवेशन प्रतिनिधिलाई विश्वास दिलाए ।

रवि र बालेन दुवैले पाँच वर्षसम्म सरकार तलमाथि नहुने र यो वा त्यो व्यक्ति पदमा पुग्यो भन्ने विषयमा आफूहरू दुर्घटनामा नपर्ने उल्लेख गरेका थिए । रवि–बालेनको सन्देश थियो, ‘पाँच वर्षसम्म ढुक्क हुनुहोस्, हामी यताउता गर्दैनौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->