पोखरा / लामो समयपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार काठमाडौंमा एउटै मञ्चमा देखिँदै छन् । एमालेसँग संसद् र सडक दुवै मोर्चामा मिलेर अघि बढ्ने सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्ड र ओली एउटै मञ्चमा देखिन लागेका हुन्।
मदन भण्डारी फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आईतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुन लागेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीमा दुई पूर्वप्रधानमन्त्री सँगै सहभागी हुन लागेका हुन् ।
पछिल्लो समय नेकपा र एमालेविच कार्यगत एकता गर्दै पार्टी एकतासम्म अगाडि बढ्ने ती नेताहरुले दिएका अभिव्यक्तिको विषयले चर्चा पाईरहेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहने उक्त विशेष कार्यक्रममा ओली र दाहालका साथै नेकपाका सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ ।





