शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भदौ २४ गते नारायणहिटी राजदरवार सफा गर्न लगाइएको रहेछ : प्रचण्ड

भदौ २४ गते नारायणहिटी राजदरवार सफा गर्न लगाइएको रहेछ : प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • असार १७ २०८३, बुधबार

पोखरा/  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका क्रममा नारायणहिटी दरबार सफा गर्न लगाएको दावी गरेका छन् ।

पोखरामा आज आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दावी गरेका हुन् । ‘नारायणहिटी सफा हुँदैछ, केही घण्टापछि देश अकैं युगमा जाँदैछ भन्ने चर्चा भइरहेको थियो । पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन्,’ प्रचण्डले भने, ‘नारायणहिटी सफा गर्न लगाउने भनेपछि स्थिति कस्तो थियो होला ? जनता र नेताको, नेता र कार्यकर्ताको सम्बन्ध टुटेको थियो । असाधारण परिस्थितिबाट देश गुज्रिएको थियो । २६ गते यो देशलाई अर्को दुर्घटनाबाट बचाउने भन्नेतिर हाम्रो दिमाग गएको थियो । हामी आफूलाई के हुने भन्ने कुनै टेन्सन थिएन ।’

उनले राष्ट्रपति र आफूहरू त्यतिबेला संसद् विघटनको पक्षमा नभएको पनि दावी गरे । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठन गर्न पत्र लेखेको देखेपछि आफूहरूले पनि देशलाई दुर्घटनामा जान नदिन निर्वाचनको पक्षमा बसेको सुनाए ।

‘केपी ओलीको चिठि देखेपछि अन्तरिम सरकार बनाउने वैधता पुग्यो भन्ने लाग्यो । हामीले प्रस्तावित गरेका होइनौं । त्यो केपी ओलीजीले नै हो अन्तरिम सरकारको प्रधानमन्त्री सिफारिस गरेको हो,’ प्रचण्डले भने, ‘हामीले देशलाई अर्को दुर्घटनातिर लानबाट बचाउनका लागि त्यो स्वीकारेको हो । हामीले संसद् विघटन गर्ने कुरा गरेका थिएनौं । हाम्रो सहमति थिएन । नयाँ प्रधानमन्त्रीको अनुमोदन संसद्बाटै गर्नुपर्छ भन्ने थियो । हामीले अन्तिम समयसम्म पनि त्यही भनिरहेका थियौं ।’

जेन जी आन्दोलन प्रतिक्रान्तितिरको परिघटना भएकोमा द्विविधा नहुन आग्रह गर्दै प्रचण्डले गत फागुन २१ को निर्वाचन पनि प्रतिक्रान्तिको निरन्तरता रहेको उल्लेख गरे । निर्वाचन हाम्रो लागि हुदै छैन, यो भदौ २४ गतेका विध्वंसकारीका लागि हो भन्ने उतिबेलै लागेको उनले जिकीर गरे । मत परिणामले पनि त्यही देखाएको उनले बताए । निर्वाचन होइन भने निर्वाचनका सबै काम भएको छर परिघटना भने अनौठो रहेको उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->