पोखरा/ पोखरेली कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले बुधवार उनलाई सदस्य सचिवमा नियुक्त गरेका हुन् ।
कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था छ । अध्यक्षको हैसियले मन्त्री पौडेलले श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
श्रेष्ठ पोखराको प्रसिद्ध विन्ध्यावासिनी मन्दिर संरक्षण एवं विकासमा सक्रिय विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिमा २५ वर्षदेखि काम गर्दै आएका छन् । यसअघि सचिव रहेका उनी हाल समितिको वरिष्ठ उपाध्यक्ष छन् । श्रेष्ठ नेपाल संगति तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव र पोखरा पूर्व प्रधानपञ्चसमेत हुन् ।
२०१६ साल कात्तिक १६ गते पोखराको सिंहनाथ टोलमा जन्मिएका तीर्थ श्रेष्ठको नाम नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा स्थापित छ । उनले नेपाली लेखक संघको केन्द्रीय अध्यक्ष र पोखरेली युवा सांस्कृतिक परिवारको तीन पटकसम्म अध्यक्ष भएर पोखरालाई साहित्यिक राजधानी बनाउन उत्तिकै खटिएका थिए ।
कविता, गीत, गजल, मुक्तक लेख्दै आएका श्रेष्ठका विभिन्न कविता। गीत संग्रह प्रकाशित छन् । उनी राष्ट्रिय प्रतिभा पुरस्कार, युवा वर्ष मोती पुरस्कार, भूपि काव्य पुरस्कार, वासुशशी स्मृति पुरस्कार, पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार, शिरोमणि पुरस्कार, प्रवल जनसेवा श्री पदक आदिबाट पुरस्कृत तथा सम्मानित भइसकेका छन् ।





