आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सामुदायिक वनको झाडी : उद्यमशीलता र रोजगारीको बलियो आधार

सामुदायिक वनको झाडी : उद्यमशीलता र रोजगारीको बलियो आधार


  • अस्मिता खड्का
  • असार २६ २०८३, शुक्रबार

भान्छामा खाना पकाउन कुन इन्धन प्रयोग हुन्छ ? सहरमा बस्ने अधिकांशको जवाफ हुन्छ – ग्याँस । केहीले बिजुली पनि भन्लान् । किनकी इन्डक्सन र इन्फ्रारेड चुलो प्रयोग गर्नेहरु पनि निकै बढेका छन् । तर यी सबै आयातित साधन हुन् । लागत त छँदैछ, नेपाल भित्र्याउँदा कर पनि तिर्नुपर्छ । तर के तपाईंलाई थाहा छ, बिक्रेट जस्ता इन्धनको स्रोतले पनि घरको चुलो बाल्न सक्छौं । जुन आयातित होइन, नेपालमै बन्छ । खर्च पनि उत्तिकै कम लाग्छ । त्यति मात्र होइन, यो वातावरणमैत्री पनि छ । तर विडम्बना बहुउपयोगी हुँदाहुँदै पनि यो उद्योग फस्टाउन सकेन ।

के हो ब्रिकेट प्यालेट ?
वनजंगलमा खेर गइरहेको वनस्पति, धानको भुस, काठको धुलो, वनमारा लगायत खेर गइरहेको पात–पतिङ्गर पेलेर तयार पारिने इन्धनलाई ब्रिकेट भनिन्छ । यो दुई आकारमा बनाइन्छ । सानो आकारलाई पेलेट र ठूलो आकारलाई ब्रिकेट भनिन्छ ।

नेपालमा यतिकै खेर गइरहेको पात–पतिङ्गरलाई विश्वले चिनेर सदुपयोग गरिरहेको छ । तर नेपाल जस्तो देश जहाँ अथाह जंगल छ, यसको सदुपयोग भएको छैन । ब्रिकेटको प्रयोग नेपालमा सुरु भएको धेरै भएपनि गति लिन सकेको थिएन । जतिबेला भारतीय नाकाबन्दीले गर्दा सर्वत्र खाना पकाउने ग्यासको हाहाकार मच्चिएको थियो, त्यसबेला भरपर्दो विकल्प बनेको थियो ब्रिकेट । नाकाबन्दीको कारण खाना पकाउने ग्यास र इन्धनको अभाव भएपछि ब्रिकेटको प्रयोग र माग बढेको थियो । जसकारण थोरै भएपनि ब्रिकेट उद्योगले गति लिन थालेको थियो तर बजारीकरण अझै हुन सकेको छैन । भारतले लगाएको नाकाबन्दीले पनि हामी कति अरुमा आश्रित छौं भनेर देखायो, यसको प्रभावकारिता तथा महत्व बुझाएर ग्यास जस्ता आयातित इन्धनलाई प्रतिस्थापन गर्नुपर्ने देखिन्छ ।

नेपालको पहाडी जिल्ला बागलुङ जैविक विविधता र वन सम्पदामा धनी छ । यहाँ ५२७ भन्दा बढी सामुदायिक वनहरू रहेका छन् । तर, हरेक वर्ष वनजंगलमा खेर जाने वनझाडी, सुकेका पातपतिङ्गर र मिचाहा प्रजातिका वनस्पतिहरू (जस्तैः वनमारा) वन डढेलोको मुख्य कारण बनिरहेका छन् । यी खेर गइरहेका स्रोतहरूलाई संकलन गरेर बायो–ब्रिकेट (Bio–Briquette) वा कोइला उद्योग स्थापना गर्न सकेमा यसले जिल्लाको आर्थिक र वातावरणीय क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ ।

ब्रिकेटका लागि कच्चा पदार्थको उपलब्धता
बागलुङमा ब्रिकेट उत्पादनका लागि पर्याप्त र निःशुल्क कच्चा पदार्थ उपलब्ध छन्ः
–मिचाहा वनस्पति (वनमारा)ः वनजङ्गल र खेतीयोग्य जमिनलाई समेत ओगटेर बसेको वनमारा झाडी ब्रिकेटका लागि सर्वोत्तम कच्चा पदार्थ हो ।
–काठका धुलो र टुक्राः जिल्लामा सञ्चालित करिब दर्जनौं फर्निचर उद्योगहरूबाट निस्कने काठको धुलो (Sawdust)।
–कृषिजन्य अवशेषः मकैका आँख्ला, गहुँको भुस, र झाडीजन्य बुट्यानहरू ।
–पाइन (सल्ला) का सुइरोः बागलुङका केही भेगमा पाइने सल्लाको सुइरो, जुन डढेलोको मुख्य कारक हो ।

मुख्य आर्थिक सम्भावनाहरू
खेर गइरहेको बुट्यानलाई ब्रिकेटमा बदल्दा जिल्लाले बहुआयामिक आर्थिक लाभ लिन सक्छ ः
–स्थानीय रोजगारी सिर्जनाः वनझाडी संकलन गर्ने, ढुवानी गर्ने र उद्योगमा काम गर्ने स्थानीय विपन्न, युवा तथा महिलाहरूले प्रत्यक्ष रोजगारी पाउनेछन् ।
–ऊर्जाको वैकल्पिक स्रोत र पैसाको बचतः बागलुङका होटल, रेस्टुरेन्ट, इँटाभट्टा र ग्रामीण घरधुरीमा खाना पकाउन वा कोठा न्यानो पार्न एलपिजी ग्यास र मट्टितेलको आयात घट्छ । यसले जिल्लाको पैसा बाहिरिनबाट रोक्छ ।
–उच्च बजार मागः पर्यावरणमैत्री ऊर्जा (Green Energy) भएकाले पोखरा र काठमाडौँ जस्ता नजिकका ठूला सहरका होटल तथा उद्योगहरूमा ब्रिकेटको उच्च माग छ । बागलुङबाट सहजै निर्यात गर्न सकिन्छ ।
–सामुदायिक वनको आम्दानीः सामुदायिक वन उपभोक्ता समूहहरूले आफैं ब्रिकेट उद्योग खोलेर वा कच्चा पदार्थ बेचेर कोषको बचत बढाउन सक्छन् ।

वातावरणीय र सामाजिक फाइदा
आर्थिक पक्षबाहेक यो व्यवसायले पर्यावरणमा सिधै सकारात्मक असर पार्छः
–वन डढेलोमा कमीः सुख्खा मौसममा डढेलो लाग्ने मुख्य कारण भुइँमा रहेका सुकेका पात र झाडी हुन् । तिनको सफाइ हुँदा वन जोगिन्छ ।
–जैविक विविधताको संरक्षणः वनमारा जस्ता मिचाहा झाडी नष्ट हुँदा रैथाने जडीबुटी र वनस्पतिहरू पलाउने मौका पाउँछन् ।
–धुवाँरहित स्वास्थ्यः परम्परागत दाउराको तुलनामा ब्रिकेट बाल्दा निकै कम धुवाँ निस्कने हुनाले ग्रामीण महिलाहरूको श्वासप्रश्वास स्वास्थ्यमा सुधार आउँछ ।

चुनौती र आगामी बाटो
सम्भावना प्रचुर भए तापनि यसका केही व्यावहारिक चुनौतीहरू छन्ः
–प्रविधि र लगानीः आधुनिक ब्रिकेट मेसिन (Extruder Machine) र चारकोल बनाउने प्रविधिको लागि सुरुवाती लगानी आवश्यक पर्छ ।
–संकलन खर्चः पहाडी भूभाग भएकाले वनबाट झाडी काटेर उद्योगसम्म ल्याउने ढुवानी खर्च बढी हुन सक्छ ।

निष्कर्ष तथा सुझावः
बागलुङमा ब्रिकेट उद्योग केवल एक व्यवसाय मात्र नभएर वन संरक्षण र गरिबी निवारणको भरपर्दो हतियार हो । यसका लागि डिभिजन वन कार्यालय बागलुङ, स्थानीय पालिकाहरू र सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले समन्वय गरी उद्यमशीलता तालिम र अनुदानका कार्यक्रमहरू ल्याउनु आवश्यक देखिन्छ । खेर गइरहेको ‘कालो वनमारा’ लाई –कालो सुन’ (कोइला) मा बदल्ने यो उपयुक्त समय हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->