पोखरा.पोखराको सेदीमा सफ्टवेयर कम्पनीको आवरणमा अनलाईन सट्टेबाजी सञ्चालन गर्दै आएको एक गिरोहका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र सात भारतीय नागरिक रहेका छन् । उनीहरूको साथबाट सट्टेबाजीमा प्रयोग गरिएका विद्युतीय उपकरण, मोबाइल, भारतीय सिमकार्डलगायत सामग्री बरामद भएको कास्की प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–१८, सेदीस्थित जीवन श्रेष्ठको घरमा अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन भइरहेको गोप्य सूचना आएको थियो । उक्त सूचनाका आधारमा शुक्रबार बिहान गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले छापा मार्दा उनीहरुलाई अनलाइन तथा सट्टेबाजी खेलाई रहेको अवस्थामा विभिन्न सामानसहित पक्राउ गरेको थियो ।
प्रहरीले यसलाई अन्तर्राष्ट्रिय अनलाइन सट्टेबाजीको जालो नै भएको जनाएको छ ।
पक्राउ पर्नेमा दार्चुला घर भई पोखरा–१८ सेदी बस्ने ३१ वर्षीय दिनेश सिंह बोहोरा रहेका छन् । यसैगरी भारतको भुपा मानपुर स्थायी घर भई सोही ठाउँ बस्ने ३४ वर्षीय सत्यम सिंह, २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिंह तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र र २४ वर्षीय सत्यम राजपूत पनि पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानअनुसार सत्यम सिंह उक्त समूहका मुख्य सञ्चालक रहेको प्रहरीको भनाई छ ।
प्रहरीले उनीहरुको साथबाट ७ वटा ल्यापटप, ६ मनिटर, ३१ वटा मोबाइल, ९ किबोर्ड, ४ वटा मल्टीप्लग, एउटा १२ भोल्टको ब्याट्री, एउटा युपीएस, २ राउटर, १६ चार्जर र ३४ थान भारतीय सिमकार्ड बरामद गरेको छ । प्रहरीले बरामद गरेको डिजिटल उपकरणहरूमा २० करोड रुपैयाँभन्दा बढीको शङ्कास्पद आर्थिक कारोबार देखिएपछि थप अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अभियुक्तहरूले २०८२ चैत १८ गतेदेखि सफ्टवयर कम्पनी सञ्चालन गर्ने बहानामा सात कोठे घर भाडामा लिएका थिए । उनीहरुले त्यही खाने, बस्ने र अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएका थिए । उनीहरूले टेलिग्राम, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमार्फत ग्रुपबाट मोबाइलमा गुरुभाई २४७ डट प्रो नामको लिंक पठाउने र डिपोजिट वापतको रकम जम्मा गराउन लगाउँथे । रकम पठाएपछि दर्ता गरी क्रिकेट, फुटवल, क्यासिनो लगायतका गेमहरुमा सट्टृबाजी गराउने र हारजित भएपछि जित्ने व्यक्तिहरुलाई रकम जम्मा गरिदिने गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरूको बयानका आधारमा गिरोहले दैनिक तीनदेखि चार लाख भारतीय रुपैयाँ आम्दानी गर्ने गरेको खुलेको छ । भारतीय नागरिकहरुको बैंक खाताहरु भाडामा प्रयोग गर्ने गरेको, अनलाइनबाटै रकम भुक्तानी तथा जम्मा गर्ने गरेको, मुख्य सञ्चालन भारतीय रहेको नाम नखुलेको २७ औं शाखाको रुपमा रहेको प्रहरीले जनाएको छ । काम गर्ने व्यक्तिलाई जनही मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक दिइने गरेको पनि पत्ता लागेका छ ।
२० करोडभन्दा बढीको कारोबार
प्रहरीले बरामद गरेको कम्प्युटरमा रहेका तीन फरक हिसाब देखिएको छ । कम्प्युटरमा एक करोड ११ लाख ९९ हजार ११८ रुपैयाँ, नौ करोड दुई लाख २२ हजार २६ रुपैयाँ र १० करोड ५५ लाख ६८ हजार ६९० रुपैयाँ बराबरको क्रेडिट कारोबार देखिएको कास्की प्रहरी प्रमुख एसपी नविन कार्कीले बताए ।
प्रारम्भिक हिसाबमै २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको देखिएपछि यसमा संगठित अन्तर्राष्ट्रिय सञ्जालको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।
अनुसन्धानका क्रममा एक्सिस बैंक, आइडिएफसी बैंक, कनरा बैंक, तेलङ्गाना ग्रामीण बैंक, २४ पे, पे बजार, गुगल पे र नक्सन पेजस्ता बैंक तथा डिजिटल भुक्तानी प्रणाली प्रयोग भएको विवरणसमेत फेला परेको प्रहरीले जनाएको छ ।
बरामद भएका विद्युतीय उपकरण, आर्थिक कारोबार, बैंकिङ विवरण र यसमा संलग्न अन्य व्यक्ति तथा सञ्जालबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । अन्तरदेशीय आर्थिक कारोबार र संगठित सट्टेबाजी सञ्जालसँगको सम्बन्धबारे समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जानकारी दिएको छ ।





