मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

१०२ गण्डकीबासी सम्पर्कविहीन

१०२ गण्डकीबासी सम्पर्कविहीन


  • विजय नेपाली
  • भाद्र १२ २०८३, शुक्रबार

पोखरा/रसुवामा आएको आकस्मिक बाढीबाट गण्डकी प्रदेश पनि अछुतो रहेन । गण्डकी प्रदेशका ११ मध्ये ८ जिल्लाका १ सय जना बाढीपछि सम्पर्कविहीन छन् । बिहीबार साँझसम्म चार सय जनाको शव प्राप्त भइसकेको छ भने बेपत्ताहरुको यकिन हुन बाँकी छ ।

नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयहरुले बिहीबार साँझ उपलब्ध गराएको विवरणमा अहिलेसम्म मनाङ, मुस्ताङ र नवलपुरका बासिन्दा बाढीमा परेका छैनन् । रसुवा घुम्न गएका, जागिर र कामको शिलशिलामा त्यहाँ पुगेकाहरू सम्पर्कभन्दा बाहिर छन् ।

सबैभन्दा बढी गोरखा गोरखा जिल्लाका ५१ जना सम्पर्कमा नआएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए । ‘यो प्रारम्भिक सूची हो । यो बढ्न पनि सक्छ । अहिलेसम्म आफन्तले सम्पर्कमा नआएको भन्नु भएको छ’, उनले भने । कास्कीका आफन्तहरुले १६ जनासँग सम्पर्क नभएको भन्दै प्रशासनमा खोजीका लागि विवरण टिपाएका छन् ।

पोखरा–१७ की सविना पौडेल, पोखरा १५ का छमप्रकाश थापा र मनु बुढा, पोखरा ५ की सृष्टि बास्तोला, पोखरा ६ का अभिषेकश आचार्य सम्पर्कमा छैनन् । धनगढीमाई गाउँपालिका सिराहाका आनन्दकुमार महतो र सिन्धुलीका प्रविन पुर्जासमेत सम्पर्क विहीन भएको भनी आफन्तले जनाएका छन् ।

पोखरा १२ का लीलाबहादुर थापा र सुमन श्रेष्ठ, पोखरा १५ का देवीकुमारी गुरुङ, पोखरा १३ का विनु गुरुङ, पोखरा १४ का गोविन्दबहादुर अधिकारी पनि बाढीपछि सम्पर्कबाहिर छन् । काठमाडौं स्थायी ठेगाना भएका राजेश शर्मा र प्रमिला पाठकसहित उनीहरुका २ सन्तानसहित सम्पर्कमा नरहेको भनी आफन्तले विवरण टिपाएका छन् ।

कास्कीका सहायक जिल्ला अधिकारी चित्राङ्गत बरालले बिहीबार बिहानसम्म चार जनाको मात्रै विवरण रहेकोमा साँझ १६ जना पुगेको जानकारी दिए ।

पर्वतका शिव लम्साल सम्पर्कविहिन छन् । फलेवासका उनी स्याप्रुवेसीको एक बैंकका प्रबन्धक थिए । तनहुँका ३ जनासँग पनि बाढीपछि सम्पर्क टुटेको छ । बागलुङका ११, म्याग्दीका २, लमजुङका १० र स्याङ्जाका ८ जना सम्पर्क विहीन भएका छन् । नवलपुरबाट समेत थुप्रै सम्पर्क विहीन भएको अनुमान गरिए पनि त्यहाँ कसैले विवरण टिपाएका छैनन् ।

प्रभावित क्षेत्रको बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहले भ्रमण गरेका छन् । उनले बाढीपहिरोका कारण विपदमा परेका नागरिकको उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालित भएको बताए । नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी उनले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका सबैसँग प्रत्यक्ष रूपमा जानकारी लिएका हुन् ।

उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पु¥याउनु हो ।’ सिंहदरबारमा बिहीबार बिहान बसेको सर्वदलीय बैठकले विपद् उद्धार तथा राहतलाई प्रभावकारी बनाउनेदेखि दीर्घकालीन पुनर्निर्माण र जोखिम न्यूनीकरणमा एक ढिक्का भएर लाग्ने निर्णय गरेको छ । १० बुँदे निर्णय गर्दै सर्वदलीय बैठकले आफ्नो ज्यानको पर्वाह नगरी बाढीमा परेकाहरुको जीवन रक्षाका लागि अहोरात्र खट्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सबै स्वयंसेवीलाई धन्यवाद दिएको छ ।

शव व्यवस्थापनका गर्न पोखरा ल्याइँदै
रसुवा बाढीपछि गण्डकी प्रदेशका गोरखा, नवलपुर र तनहुँका भूभागमा शवहरू फेला परेका छन् । तनहुँमा २३, गोरखामा ३२ र नवलपुरमा ८२ जनाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय गण्डकीमा प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

एकै पटक धेरै संख्या शव फेला परेपछि व्यवस्थापन गर्नसमेत सकस परेको छ । त्यसरी भेटिएकामध्ये बिहीबार २१ वटा शव पोखरा ल्याइएको छ । गोरखाबाट ११, नवलपुरबाट ४१ थप शव पोखरा ल्याइने कोइरालाले जानकारी दिए ।

उनका अनुसार पोखराबाट घुम्न जाने र केही कामको शिलशिलामा त्यहाँ पुगेका थिए । अहिले गोरखा, चितवन, तनहुँ र नवलपुर पूर्वतर्फ भेटिएका शवहरु समेत पोखरा ल्याइएको छ । बिहीबार पहिलो चरणमा ९ वटा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ल्याइएको थियो ।

चितवनका अस्पतालमा ठाउँ अभाव भएपछि शव पोखरा ल्याइएको कास्कीका सहायक जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । ‘चितवन र नवलपरासीमा भेटिएका शव ल्याइएको हो । उता, शवगृह सानो भएकाले यता ल्याइएको हो । अझै आउन सक्छन्, हामी समन्वय गरिरहेका छौँ,’ बरालले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->