पर्वत/शुक्रवार साँझदेखि सुरु भएको वर्षा शनिवार बिहानसम्म पनि लगातार भइरहेको छ । यो अवधिमा गण्डकी प्रदेशभित्र सबैभन्दा बढी वर्षा स्याङ्जाको पञ्चमूलमा भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा १००.४ मिलिमिटर वर्षा भएको छ । दोस्रो धेरै वर्षा पोखराको लामापाटनमा भएको छ । जहाँ पछिल्लो २४ घण्टामा ९५.४ मिलिमिटर वर्षा मापन भएको छ । तेस्रो धेरै वर्षा पर्वत, स्याङ्जा र कास्कीको सिमानामा रहेको पञ्चासे क्षेत्रमा ७०.४ मिलिमिटर वर्षा भएको छ ।
यस्तै पर्वतको कार्कीनेटामा रहेको स्टेसनमा ६७.४, कास्कीको लुम्लेमा ६३.२, म्याग्दीको दरबाङमा ४८.८, म्याग्दीकै तातोपानीमा ४६.८, बागलुङको बोबाङमा ४६, म्याग्दीको बेगामा ४१.६ मिलिमिटर वर्षा मापन भएको छ । म्याग्दीका विभिन्न क्षेत्रमा वर्षा हुँदा कालीगण्डकी नदीमा र कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा मोदी खोलामा जल सतह बढेको छ ।
विभागले जारी गरेको मौसम सम्बन्धी सूचनामा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ ।
यसैका प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ । गण्डकी प्रदेशका केही, कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हलुकादेखि मध्यम खालको वर्षा भइरहेको छ ।





