आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३
  • १४ भाद्र २०८३ , आइतबार
  • August 30 2026

त्यहाँ मान्छे नमरेको घर छैन…

त्यहाँ मान्छे नमरेको घर छैन…

विद्यालय आइपुगेका सबै बालबालिकालाई हतार हतार खरबारीमा पठाउन थालियो । १० बज्नै लागेको थियो ।


  • सिता आचार्य
  • भाद्र १४ २०८३, आइतबार

म बिहान साँढे नौ बजे त्रिशुलीमा बाढी आउँदै छ भन्ने खबर थाहा पाएकी थिएँ । पोहोर साल पनि त्रिशुलीमा ठूलो बाढी आएको थियो, त्यस्तै होला भनेर विद्यालय हिंडे ।

चण्डेश्वरी मावि त्रिशुली नदीको ५ सय मीटर दुरीमा छ । बालबालिकालाई नदीको छेउछाउ जान दिन हुँदैन भन्ने लाग्यो । निर्धारित समयमा विद्यालय हिंडे । विद्यालय पुग्दा शिक्षकहरु त्रसिद देखिए । विद्यार्थी पनि आत्तिएका थिए । विद्यालयका ७ सय विद्यार्थीमध्ये झण्डै १ सय ५० जति गाडीमा आउने स्थानका थिए । एक गाडी आइसकेका थिए । अर्को गाडी आउने स्थानकालाई बाढी आउने संभावना देखेर सुरक्षित रहन भनी फोन गरिदिएपछि भागे । एउटा गाडीको आउँदा आउँदै विद्यालय नल्याई सिधै पाखोतिर लैजान भनियो ।

विद्यालय आइपुगेका सबै बालबालिकालाई हतार हतार खरबारीमा पठाउन थालियो । १० बज्नै लागेको थियो । त्यतिबेलासम्म विद्यालय आइनपुगेका २० जनाभन्दा बढी बालबालिका बेपत्ता भए । सायद उनीहरुलाई नदीले बगाएर लग्यो । खोजी गरेर कतै भेटिएन । आफ्नै छोराछोरीझैं लाग्ने ती बालबालिका बेपत्ता भएपछि शिक्षकहरु अमिला भए । ‘एक जना बालिका त मेरै साथीकी छोरी थिइन् । उनी बेपत्ता भएको खबर भन्न पनि सकिन । अन्य शिक्षकहरुले खबर पठाए ।

एक बालकको भने घरका सबै परिवार बगे । त्यो थहा पाएपछि मैले २ दिन घरमै लगेर राखें । उनको मावलीमा खबर भयो । मावली आएर लगे । तर मैले तेरो आमाबाबु बगे भनेर भन्न सकिन । यो एउटा शिक्षकका लागि धेरै पीडादायी घटना हो । अब सायद त्यो बाबु मेरो विद्यालयमा आउने छैन होला, काठमाण्डौं गएको छ । त्यसैले पीडा सहेर पनि तिम्रा बाबुआमा बगे भन्न नसकेकी हुँ ।

दिउँसो बाढी आएकोले बालबालिका पाखोतिर पठाइयो । दिउँसो ३ बजेदेखि घनघोर वर्षात् भयो । त्यसपछि त बालबालिका खोज्ने अर्को समस्या आइलाग्यो । खोलातिर बग्छन् की भन्ने डर, पानीले गाउँ पनि बगाउँलाझैं भयो । कतै गड्याङ–गुडुङ भएपनि बाढी आएकै जस्ता लाग्ने । हराएका बालबालिकाको यादले आँखा रसाइ रहन्छन् । उनीहरुको सम्झनाले खाना पकाउन पनि मन लाग्दैन । खान पनि मन लाग्दैन । घरमा ल्याएर राखेका ती बालबालिकाले पनि खान सकेनन् । सायद उनीहरुलाई पनि अभिभावक र साथीको याद आयो होला । मरेका छन् भन्ने खबर नभनेपनि उनीहरुको कलिलो मनमस्तिस्कले त्यो अनुमान लगाइसकेको हुनुपर्छ । नत्र यतिका समय अभिभावक किन आएनन् ? किन मामाघरकी हजुरआमालाई जिम्मा लगाउन खोज्दैछन् भन्ने उनले प्रष्टै बुझेका थिए ।

बाढीले नुवाकोटको बेत्रावती, सोले, ढुंगे र त्रिशुलीको नाम निसाना राखेको छैन । त्यहाँ गएर कसको घर, कसको गोठ भन्ने त परै जावस्, बस्ती कता थियो भन्ने पनि भेउ पाइदैन । यो विपत्तिले के कति क्षति गरेको छ भन्ने कुरा कतै सुईंको छैन । तथ्यांक कसले पो निकालिदिने र ? सबै पीडामा मात्रै छन् । सबै त्रासमा छन् ।

विद्यालय खुल्ने कहिले भन्ने नै थाहा छैन । त्यसैले छोरी च्यापेर म त काठमाण्डौं आएँ । नुवाकोट तर्फको बाटो नभएकोले पैदल ८ घण्टा हिंडेर गल्छी आएर बल्ल काठमाण्डौं आइपुगेकी छु । म अझै बिक्षिप्त छु । रातमा निद्रा लाग्दैन । खान मन छैन । परिवार गुमाएका, बेपत्ता भएर खबर नपाइएका र घरबारबिहिनलाई कस्तो भएको होला ? यो अनुमान गर्न सकिने नै छैन ।

मोबाइल आएपछि एनिमेसन गरेको फिल्ममा ठूला जनावरहरु देखिन्थे । ती जनावरले एकै खेपमा सखाप पारेको देखिन्थ्यो । अहिले त नदीमा बाढीले नै त्यो भन्दा ठूलो क्षति गरेको छ । यस्तै पनि हुने रहेछ भन्ने आफ्नै आँखाले देखियो । यस्तो पीडा र दुःख कसैलाई नहोस् ।

पोहोर साल पनि बाढी नआएको होइन, आएको थियो । रसुवामा प्रहरी चौकी पनि बगेकै हो । तर नदीमा मिसिएपछि सामान्य सतह बढ्ने भएकोले खोला छेवैमा जान मिल्दैन भन्ने मात्र सोच बनाएका हामीले यस्तो आकास खसेको पनि देखियो । बाढीकै कारण हुनुपर्छ भुकम्प आएको थियो । भुकम्प मात्र हो भनेर कति मानिस त खोला किनारमा खुला ठाउँ खोज्दै पनि गए । कति मानिस घरभित्रै बसे । उनीहरु सबै बेपत्ता छन् । मेरै गाउँका ८० जना बेपत्ता छन् । त्यहाँ बस्दा नरोएको व्यक्ति छैन । मानिस नमरेको घर छैन । त्यस्तो कोलाहलले मानिसको मनमस्तिस्क कस्तो बनेको होला ? हेलीकोप्टरले सयौं खेप हालेर अलपत्रहरुलाई ओसारेको छ । फसेका कति छन् कति । बेपत्ताहरु त कतिको शव भेटिएला, कतिको त नाम निसाना नहुने भयो ।

बालबालिकाको कलिलो मनमा त कति चोट छ अनुमान गर्न सकिंदैन । जसका कारण बालबालिकालाई लयमा ल्याएर विद्याय खोल्न पनि दशैपछि मात्र संभव हुने देख्छु । यद्यपी सरकारले राहत क्षतिपुर्ती, पुनस्थापना जस्ता काम गर्नेछ । त्यसपछिको वातावरण सहज बन्ला । त्यतिन्जेल आम नागरिकमा आशा पलाउने छ ।

(नुवाकोटको चण्डेश्वर माबिकी शिक्षक सीता आचार्यसंग ढोरपाटनकर्मी प्रकाश बरालले गरेको कुराकानीमा आधारित ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->