पोखरा / नेकपा (एमाले) गण्डकी प्रदेश सभा संसदीय दलले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रदेश सभामा विश्वासको मत लिन आग्रह गरेको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक देवका पहारी त्रिपाठीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै २०८१ साल असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रमा भएको ७ बुँदे सहमतिका आधारमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई समर्थन गर्दै सोही दिनदेखि एमाले पनि सरकारमा सहभागी भएको जनाएकी छन् ।
तर यही भदौ १० गते नेकपा एमाले सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थनसमेत नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम फिर्ता लिएको त्रिपाठीले जनाएकी छन् ।
समर्थन फिर्ता लिएपछि संविधानको व्यवस्थाअनुसार मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभा समक्ष विश्वासको मतका लागि प्रस्ताव राख्नुपर्ने एमालेले जनाएको छ । संविधानको धारा १८८ को उपधारा (२) मा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको भन्दै एमालेले त्यसतर्फ गम्भीर ध्यानाकर्षण गराएको छ ।
एमालेले उक्त विषय पार्टीका तर्फबाट प्रदेशसभामा दलका नेतामार्फत रेकर्डसमेत गराइसकिएको जनाएको छ । प्रदेशसभा संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्रीले संवैधानिक व्यवस्थाको पालना गर्दै विश्वासको मत लिनुपर्नेमा एमालेले जोड दिएको हो ।
मुख्यमन्त्री पाण्डेले बुधवारमात्र नेसपा सांसाद फणिन्द्र देवकोटालाई मन्त्री नियुक्त गरेका थिए ।






