पोखरा/भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा पु¥याएको क्षतिमा सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघले राहत संकलन कार्यक्रम सुरु गरेको छ ।
संघ अध्यक्ष जानुका पराजुली अधिकारीले बाढीबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिनुपर्ने बताएकी छन् । ‘समग्र नेपालीको छाती चर्किएको छ, मन रोएको छ,’ उनले भनिन् ।
संघले यसअघि नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ जम्मा गरिसकेको छ । अहिलेको राहत संकलन अभियानको संयोजन द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराईले गर्ने छन् । उनले यो घडीमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै स्थानीय तह, संघ, संस्था, निजी क्षेत्र तथा आम नागरिकलाई समेत सहयोगका लागि अघि बढ्न आ्रह गरेका छन ।
कार्यक्रमअन्तर्गत चामल, चिउरा, दाल , तेल, लुगा, कम्बल तथा न्यानो कपडा, पिउने पानी, स्यानिटरी तथा सरसफाई सामग्री, भाँडाकुँडा लगायतका जिन्सी सामग्री संकलन गरिनेछ । इच्छुक व्यक्ति तथा संस्थाले पोखरा–२९, भण्डारढिकस्थित संघको सचिवालयमा सामग्री बुझाउन सक्ने छन् ।
संकलित सामग्री तथा रकमको अभिलेख राखी सार्वजनिक गरिने र नेपाल उद्योग वाणिज्य महासंघमार्फत पारदर्शी ढंगले सम्बन्धित पीडितसम्म पु¥याइनेछ । अध्यक्ष पराजुलीले सबै नेपालीलाई यस अभियानमा सहभागी हुन अपिलसमेत गरेकी छन् ।





