पोखरा/हिन्दु परम्परा अनुसार नेपाली समाजमा आमाबाबाको मृत्यु पछि छोराहरुले काजकिरिया गर्ने परम्परा रहिआएकोमा पोखराकी जुना नेपालीले आफ्नो बुबाको अन्त्येष्टी कर्म सँगै विधिवत् रुपमा काजकिरिया गरेकी छन् ।
पोखरा महानगरपालिका ५ मालेपाटन जिरोकिलोमिटरका डिलबहादुर नेपालीको मृत्यु भएपछि छोरा नहुँदा अविवाहित कान्छी छोरीले दाहसंस्कार सहित विधिवत् रुपमा काजकिरियामा बसेकी हुन् ।
आफ्ना दाजुभाई नभएको अवस्थामा बुबाको काजकिरिया कसले गर्ने, कसरी गर्ने जस्ता कुरामा परिवारिक सदस्य र इष्टमित्रहरु विच छलफल भएपछि उनी स्वयंले नै परम्परा र संस्कार अनुरुप नै बुबाको काजकिरिया गरेको उनले बताईन् । छोराले गर्ने हुने सबैकाम छोरीहरुले गर्न हुने काजकिरिया गर्न नहुने काँही लेखिएको छैन भन्ने बुझेरै आफुले जिम्मेवारी लिएको पनि उनले बताईन् ।
अविवाहित छोरी छोरासरह नै हुने र बाँचुञ्जेल बुबालाई सेवा गरेकाले मृत्यु पछिको सेवामा पनि आफ्नो हक रहने भएकाले आफु अघि सरेको समेत उनी बताउँछिन् । अन्त्येष्टीका क्रममा बुबालाई दागबत्ति समेत उनले नै दिएकी हुन् । डिलबहादुरका एकछोरा कृष्ण बिरामी भई २० वर्षअघि निधन भएपछि उनका तीन छोरीहरु मात्रै रहेका हुन् । आफ्नो भदौ १२ गतेदेखि छोरासरह किरियामा बसेकी उनी आईतबारसम्म १० औं दिन किरियामा रहने छिन् । उनी सँगै आमा न्यु कुमारी नेपाली, दिदीहरु मिठु र सुनिता पनि संस्कार अनुरुप किरियामा बसिरहेको उनले बताईन् ।
२००९ साल फागुन ११ गते जन्मिनु भएका नेपालीको ७४ वर्षको उमेरमा निधन भएका नेपाली समाजसेवी र मिजार समाजका अगुवा रहेको मिजार समाज गण्डकी प्रदेशका अध्यक्ष शालिकराम नेपाली बताउँछन् । उनले मिजार समाजलाई संस्थागत रुपमा अघि बढाउन कास्की जिल्ला शाखालाई पोखरामा जग्गादान गर्नुका साथै विभिन्न समयमा संस्थागत जिम्मेवारीमा रहेर योगदान पुर्याएको पनि उनले बताए ।





