पोखरा/पोखराको गहना फेवातालमा शुक्रबार भएको दुर्घटनामा २ जनाको ज्यान गयो; शनिबार तालमा डुबेर अर्का १ जनाले जीवन गुमाए । शुक्रबार पोखरा–१८, गैरीचौताराको घुम्तीबाट फेवातालमा कार खस्दा २ भारतीयको मृत्यु भयो ।
कारसहित फेवातालमा खस्दा भारतको बिहार, पूर्वी चम्पारणका २६ वर्षीय नवदीपकुमार यादव र २६ वर्षकै प्रियान्सु पाण्डेको ज्यान गएको हो । सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको कारका चालकले नियन्त्रण गुमाउँदा बिहान करिब ५ बजे सडकबाट करिब २० मिटर तल फेवातालमा कार खसेको थियो ।
दुर्घटनामा घाइते भएका बिहार २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादव उपचारपश्चात घर फर्किइसकेका छन् । गएको फागुन २ गते सोही स्थानमा बिएए १५८२ नम्बरको कार खसेको थियो । पोखरा–७, मासबार बस्ने स्याङ्जा फेदीखोला–५ का २४ वर्षीइ अदित गुरुङको त्यो बेला ज्यान गएको थियो ।
२०७६ फागुन २६ गते बिहान पोखरा–१८ रातोमाटो डाडाँबाट फेवातालमा कार खस्दा ४ जना घाइते भएका थिए । ग२च ६९१२ नम्बरको कार तालमा खस्दा लेकसाइडका यो घटना भएको थियो । यी गैरीचौतारादेखि रातामाटेसम्म भएका केही दुर्घटना हुन् । सो क्षेत्रमा यस्ता थुप्रै दुर्घटना भएका छन् । जसमा आन्तरिक तथा बाह्य पर्यटकको ज्यानसमेत गएको छ ।
पामे क्षेत्रमा घुमेर फर्किने क्रममा त्यहाँ दुर्घटना भएको देखिएको छ । अधिकांश दुर्घटना रातको २ देखि बिहान ५–६ बजे आसपासमा हुने गरेका छन् । स्थानीय भीम पराजुली मादक पदार्थ सेवन र लापरवाही गरी गाडी चलाउँदा दुर्घटना हुँदै आएको बताउँछन् ।
यो फेवातालको सिरान पमो फाँट जाने मुख्य सडक हो । ‘यसमा मुख्य भनेको त मापसे र चालकको लापरवाही नै देखिन्छ । योबाहेक त्यहाँ दिउँसोमा त चेकिङ हुन्छ, रातमा समेत गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘सधैजसो एकै ठाउँबाट दुर्घटना भएको छ, ज्यान पनि गइरहेको छ ।’
स्थानीय बाबुराम भुजेल यो घुम्ती र रातामाटेमा बढी दुर्घटना हुने गरेको सुनाउँछन् । ‘यो घुम्ती र पारीपट्टि रातामाटे पनि घम्तीमै छ । यी दुई घुम्ती तालकै डिलमा भएका कारणले निकै खतरा छ,’ उनले भने । खुला क्षेत्र भएकाले र पामेतर्फ घुम्न गई मापसे गरी रातमा फर्कदा बढी जोखिम हुने गरेको उनको दाबी छ ।
यी मोडमा बत्तीको समेत व्यवस्था नहुँदा दुर्घटना बढेको उनको भनाइ छ । यी स्थानका लागि पोखरा १८ ले ४ लाख ४० हजार रुपैयाँ छुट्याएको छ । त्यहाँ दुर्घटना न्यूनीकरणका लागि ठूलो रकम लाग्ने जनाउँदै भुजेल गैरी चौतारामा ब्यारिएर निर्माण समिति बनेको बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले दुर्घटनाबारे अध्ययन गरिरहेको जनाए । हालैका दुर्घटनाका कारण खोजी भइरहेको उनको भनाइ छ । सो क्षेत्रमा बढी नै दुर्घटना भएकाले सडक सुरक्षाका लागि सम्बन्धित निकाय र स्थानीयसँग समन्वय जरुरी भएको उनको भनाइ छ ।
‘कारमा सवार २ जना पर्यटकको मृत्यु भएको छ । हामी यो विषयमा गम्भीर भएर अनुसन्धान गरिरहेका छौं । मापसे गरी सवारी चलाएको हो कि भन्ने छ,’ उनले भने, ‘त्यो बारेमा समेत अनुसन्धान गर्न बैदाम प्रहरीलाई भनेका छौं ।’





