पोखरा/पोखरा उद्योग वाणिज्य संघ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । आगामी २ वर्षे कार्यकालका लागि संघको अध्यक्षमा २ प्यानलसहित ४ जना मैदानमा छन् ।
अध्यक्षका लागि बलराम आचार्य र शोभा गौतमले प्यानलसहित उम्मेदवारी दिएका छन् भने उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल एकल उम्मेदवारी दर्ता गराएर मैदानमा छन् । बुद्धाचार्य सदस्य, वाणिज्य उपाध्यक्षहुँदै अहिले वरिष्ठ उपाध्यक्ष छन् ।
अध्यक्षमा तेस्रो पटक प्रतिस्पर्धा गरिरहेका पोखरेल रियलस्टेट र पर्यटन व्यवसायमा आवद्ध छन् । प्यानलसहित उम्मेदवारी दिएका बलराम आचार्य सप्लायर्सका सञ्चालक हुन् । सदस्य, कोषाध्यक्षहुँदै उनी अहिले उपाध्यक्ष (वाणिज्य) छन् ।
प्यानलसहित मैदानमा रहेकी गौतम पुष्पाञ्जली इभेन्ट सेन्टर,सुप्रिम सप्लायर्सलगायतकी सञ्चालक हुन् ।अहिले महासचिव रहेकी गौतम पोखराको जेठो संस्था संघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने दौडमा छिन् ।
संघको पदाधिकारीमा भने आचार्य र गौतमको प्यानलबीच मात्र प्रतिष्पर्धा हुँदैछ । वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला र टीकाराम सुवेदी प्रतिष्पर्धामा छन् । उद्योगतर्फको उपाध्यक्षका लागि ललितबहादुर कुवँर रसौगात थापाबीच प्रतिष्पर्धा हुँदै छ ।
वाणिज्यतर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ र भीम गौतम उम्मेदवार छन् । महासचिवमासुदीप प्रधानाङ्ग र तारानाथ ढुंगाना प्रतिस्पर्धामा हुँदा कोषाध्यक्षमा देवेन्द्र प्रजु र जीवनप्रकाश श्रेष्ठ मैदानमा छन् ।
उपमहासचिवमा प्रदीप राजभण्डारी, यादवप्रसाद पोखरेल र रामचन्द्र तिमिल्सिनाले उम्मेदवारी दिएका छन् । खुल्ला सदस्यमा गोविन्दबहादुर केसी, मनोहरि पौडेल, नवीन नापित, एकनारायण गौतम, रामप्रसाद कँडेल, दुर्गा बराल, सूर्यराज घिमिरे (सुरेश), कमलबहादुर सुनार, अमृत पोखरेल, भानुभक्त अधिकारी, रामेश्वर अधिकारी, निर्मला चापागाईं, दिलीपकुमार श्रेष्ठ र हरिप्रसाद अधिकारीबीच प्रतिष्पर्धा हुँदैछ ।संघमा हाल २ हजार ७ सय ३१ सदस्य छन् ।
शनिबार संघको साधारणसभा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले उद्घाटन गरे । उनले भोटेकोशी बाढी प्रभावित लागि मन फुकाएर सहयोग गर्न आग्रह गरे । उनले भने,‘पुननिर्र्माणका लागि सरकारसँग मिलेर काम गर्छौं, तपाईं सम्पूर्ण उद्योगी, व्यवसायीले पनि मनकारी मन फुकाएर सहयोग गर्नूस् ।’
महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्रको सुरक्षाका लागि महासंघ र संघले आवाज बुलन्द गर्नुपर्ने बताए । ‘राजनीतिक उथलपुथल हुँदा होस् वा प्राकृतिक विपदमा होस्, उद्योगी, व्यवसायी समस्यामा पर्दै आएका छन्,’ उनले भने,‘त्यसैले लगानी सुरक्षाको वातावरण निर्माणमा महासंघ, संघले भूमिका खेलोस् ।’ उनले प्राकृतिक विपत्तीका कारण पर्यटन क्षेत्र तहसनहस हुने अवस्था रहेको जनाए ।
नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य सन्तोष पोखरेलले प्राकृतिक विपत्ति गएको क्षेत्रबाहेक अन्य क्षेत्र खुल्ला रहेको सन्देश दिनुपर्नेमा जोड दिए ।





