पोखरा / पोखराको रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि १० लाख ३ हजार ७०५ रुपैयाँ सहयोग गरेको छ । विद्यालय परिवारले संकलन गरेको यो रकम प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा गर्नका लागि हिसान र प्याब्सन कास्कीका अध्यक्षलाई हस्तान्तरण गरेको हो ।
सहयोग रकम जुटाउन विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासनले योगदान गरेका छन् । विद्यार्थीहरुबाट ३ लाख २३ हजार १९५ रुपैयाँ संकलन भएको छ । शिक्षक र कर्मचारीहरुले ३ लाख ३० हजार ५ सय १० रुपैयाँ योगदान गरेका छन् । विद्यालय प्रशासनका तर्फबाट ३ लाख ५० हजार रुपैयाँ थप गरी जम्मा १० लाख ३ हजार ७ सय ५ रुपैयाँ पुर्याइएको हो ।
स्कुलका प्राचार्य बाबुराम पन्तका अनुसार संकलित रकम मध्ये ६ लाख ७० हजार रुपैयाँ हिसान कास्कीका अध्यक्ष दिवाकर जैशी र बाँकी ३ लाख ३३ हजार ७ सय ५ रुपैयाँ प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमलाई बुझाइएको हो । यो रकम ती संस्थाहरुमार्फत प्रधानमन्त्री दैवीप्रकोप कोषमा जम्मा हुनेछ ।
पन्तले राष्ट्रिय विपत्तिको यो घडीमा आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्ने प्रयास गरेको भन्दै यस्तो मानवीय कार्यमा सहयोग गर्ने सम्पूर्ण अभिभावक, विद्यार्थी र कर्मचारीहरुलाई कृतज्ञता व्यक्त गरे ।





