मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३
  • २४ कार्तिक २०८३ , मंगलबार
  • November 10 2026

लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

घले शासन अन्त्य गरी यशोब्रह्म शाहलाई लमजुङको राजगद्दीमा पुर्‍याउन भूमिका खेलेका दुराको स्मृतिमा नयाँ शालिक स्थापना गरिएको हो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २४ २०८३, मंगलबार

लमजुङ / लमजुङमा शाहवंशीय शासन स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका खजे दुराको शालिक पुनःस्थापना गरिएको छ । सुन्दरबजार नगरपालिका-३, चन्द्रेश्वर च्यानपाटास्थित खजे पार्कमा उनको नयाँ शालिक स्थापना गरिएको हो ।

खजे दुराको स्मृतिमा आयोजित ५१औं स्मृति दिवसका अवसरमा शनिबार शालिक पुनःस्थापना गरिएको हो । गण्डकी प्रदेश सरकारका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य डा. टकराज गुरुङ र दुरा सेवा समाजका अध्यक्ष सुरेशकुमार दुरालगायतले शालिक अनावरण गरे ।

लमजुङको दोर्दी गाउँपालिका-३, श्रीमञ्ज्याङका कलाकार चेतनाथ घिमिरेले २०३३ सालमा तयार पारेको स्केचका आधारमा २०३७ सालमा खजेगाउँका दुरा समुदायले उक्त स्थानमा पहिलोपटक खजे दुराको शालिक स्थापना गरेका थिए ।

कलाकार मनबहादुर विश्वकर्माले निर्माण गरेको उक्त शालिक २०५७ सालमा फुटेपछि उनकै सहयोगमा अर्को शालिक बनाइएको थियो । दोस्रो शालिक पनि जीर्ण बनेपछि अहिले पित्तलको लेप लगाइएको नयाँ शालिक निर्माण गरी पुनःस्थापना गरिएको खजे दुरा पार्क संरक्षण समितिले जनाएको छ । यसपटक विष्णुभक्त बरालले शालिक बनाएका हुन् ।

इतिहासअनुसार खजे दुराले लमजुङमा घले राजाको शासन अन्त्य गरी शाहवंशीय शासन स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । उनले कास्कीका राजा कुलमण्डन शाहका छोरा कालु शाहलाई लमजुङ ल्याएर राजा बनाउन खोजेका थिए । तर घले राजाका सैनिकले तुर्लुङकोटस्थित वनकाली जंगलमा कालु शाहको हत्या गरिदिए ।

त्यसपछि खजे दुराले कुलमण्डन शाहका कान्छा छोरा डेढ वर्षका यशोब्रहृम शाहलाई ज्याबीमा राखेर लमजुङ ल्याएको इतिहासमा उल्लेख छ । खजे दुराले सहयोगीहरुको साथमा वि.सं. १५५० असार १५ गते उनलाई लमजुङ दरबार पुर्‍याएर राजगद्दीमा विराजमान गराएका थिए ।

यशोब्रहृम शाहलाई लमजुङ ल्याउने क्रममा सुकभर क्याउछा, चामु धिंगाल, लक्ष्मण दुरा, कुश्माखर घिमिरेलगायतले सहयोग गरेका थिए । यस घटनालाई लमजुङमा शाहवंशीय शासन स्थापनाको महत्वपूर्ण आधारका रुपमा लिइन्छ ।

यशोब्रहृम शाहपछिका पुस्ताका एघारौं राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान अघि बढाएका थिए । खजे दुराको अनुहार कस्तो थियो भन्ने यकिन गर्ने तस्बिर वा अन्य दृश्य अभिलेख उपलब्ध छैन । कलाकार घिमिरेले तयार पारेको स्केचलाई नै उनको शालिक निर्माणको आधार बनाइएको थियो ।

दुरा समुदायले खजे दुरालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने मागसमेत गर्दै आएको छ । उनको योगदानको उचित मूल्यांकन गरी राष्ट्रिय सम्मान प्रदान गर्नुपर्ने, हुलाक टिकटमा तस्बिर समेट्नुपर्ने, इतिहासका पाठ्यसामग्रीमा उनको योगदान समावेश गर्नुपर्ने माग समाजका अगुवाहरुले उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->