पोखरा / पोखरा–बागलुङ सडकखण्डअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–१ घट्टेखोलामा दुई दिन लगातार माथिबाट सुख्खा पहिरो खस्दा यातायात प्रभावित भएको छ।
आइतबार र सोमबार लगातार पहिरो खसेको हो । आइतबार बिहान करिब ९ बजेर ५ मिनेटको समयमा सडक माथिबाट सुख्खा पहिरो खसेपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण सडकको दुवैतर्फ सवारी आवागमन ठप्प भएपनी तत्काल सडक खुलाउने काम भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले स्थानीयवासी, जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने पहल गरेको थियो। सोही दिन बिहान १० बजेर ५५ मिनेटमा एकतर्फी यातायात सञ्चालनमा आएको थियो भने दिउँसो २बजेर ३० मिनेटमा दुवैतर्फी यातायात सुचारु भएको थियो।
तर, सोमबार दिउँसो ३ बजे सोही स्थानमा पुनः सडक माथिबाट सुख्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध हुन पुगेको छ ।





