बागलुङ, २० फागुन– संघियता कार्यान्वयनमा आएसँगै बागलुङमा जग्गा खरिद बिक्रीको कारोवारमा कमी आएको छ । बितेका बर्षहरुमा भन्दा यो आर्थिक बर्षको पहिलो छ महिनामा जग्गा खरिद बिक्रीको कारोवार कम भएको पाईएको हो ।
मालपोत कार्यालय बागलुङका अनुसार गत बर्ष फागुनको दोस्रो सातासम्म १ हजार ६ सय २१ जग्गाका कारोवार कार्यालयमा दर्ता भएका थिए । यो बर्षभने सोही समयावधीमा ९ सय ४७ मात्रै कारोवार भएको कार्यालयले जनाएको छ । ‘जग्गाको कारोबार हुँदा खरिद बिक्रीको बिषयमा जानकारी गराउन र नामसारीका लागि सेवाग्रही कार्यालयमा आउँथे’ मालपोत अधिकृत बिष्णु प्रसाद शर्माले भने ‘यो बर्ष निकै कम रजिष्टेशन भएका छन्, जसको अर्थ कारोवार घटेको भन्न सकिन्छ ।’
बागलुङमा बजार बिस्तार भैरहेका सुगम ठाउँहरुमा जग्गा खरिद गर्ने र दुर्गम गाउँका पाखाहरु बिक्री हुने गरेका थिए । ‘संयीयता कार्यान्वयनसँगै गाउँ–गाउँमा पुगेका सेवा सुविधाका कारण सुगम भनिएका ठाउँहरुको जग्गाको माग कम भएकाले कारोवार घटेको हुनसक्छ’ शर्माले भने ‘पछिल्लो समय कार्यालयमा आउने सेवाग्रही अरुको भन्दा जग्गा कारोवार नै कम हुने गरेका छन् ।’
पहाडी जिल्ला भएकाले बागलुङ समथर जमिनको खोजीमा मधेशतिर बसाई सर्नेको क्रम बढेकाले पनि जग्गाको कारोवारमा कमी आएको हो । ‘यसै बर्ष मात्रै झण्डै २५ घर परिवार हाम्रो वडाबाट बसाई सरेर गए’ बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने ‘यहाँको जग्गा बिक्री भएको छैन, मधेशको जग्गा खरिद बिक्रीको हामीकहाँ जानकारी हुने कुरा भएन, त्यसैले जग्गाको कारोवार कम देखीएको हो ।’ बैदेशीक रोजगारीमा जाने युवाहरुले मधेशको जग्गामा लगानी बढी गरेका कारण जिल्लामा जग्गाको कारोवारमा कमी आएको गौतमको भनाई थियो ।
मधेशमा घेडेरी किनेर घर बनाउनेहरुले पहाडको जग्गा बिक्री गर्न नचाहने र आफ्नो जन्मथलोको जग्गा जोगाई राख्ने गरेका कारण पनि कारोवारमा कमी आएको हुन सक्ने गौतमले औल्याए । बसाईसाराई गरेर जानेहरुले वडा स्तरबाट सिफारिस पाउने भएकाले जिल्लामा के कती बसाई सरेर गए वा अन्य ठाउँका जग्गामा लगानी भैरहेको छ भन्ने बिषयमा तथ्यांक पाउन कठिन छ ।
नेपाल सरकारले एउटै जग्गाको कित्ताका बर्षमा १ पटक भन्दा धेरै गर्न नपाउने व्यवस्था गरेका कारणले पनि जग्गाको कारोवारमा कमी आएको मालपोत कार्यालयले जनाएको छ । मालपोत कार्यालयमा जग्गाको कारोवारमा कमी आएसँगै कामको चाप समेत कम भएको कार्यालयले जनाएको छ ।
जग्गाको कारोवारका काम कम आउन थालेको मालपोत कार्यालयमा धितो तथा रोक्काका कामहरु भने बढ्दै गएका छन् । जिल्लाका बिभिन्न ठाउँमा स्थापना भैरहेका बैंक तथा बित्तिय संस्थाहरुका कारण धितो र रोक्काका काम धेरै हुने गरेका छन् । दैनिक १० देखी १५ वटासम्म धितो, रोक्का र फुकुवाका काम आउने गरेको कार्यालय प्रमुख शर्माले जानकारी दिए ।
३० देखि ३५ जना सम्मले कार्यालयबाट दैनिक सेवा लिने गरेकामा धितो रोक्का र फुकुवाका कामको चाप बढिरहेको उनले बताए । सहकारी संस्था, बैंक तथा अन्य लघुबित्तिय कारोवार गर्ने संस्थाहरुले कर्जा लगानी वर्दा यस्ता कामहरु लिएर कार्यालय आउने गरेका छन् । अदालतले दिलाउने अंश, बैंक तथा बित्तिय संस्थाहरुले गर्ने लिलामीका काम समेत कार्यालयमा निकै कम मात्रामा आउने गरेका छन् ।





