मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

नेपालीलेभन्दा विदेशीले पहिले चिनेको मर्दी हिमाल !

नेपालीलेभन्दा विदेशीले पहिले चिनेको मर्दी हिमाल !


  • Dhorpatan News
  • चैत्र ८ २०७५, शुक्रबार

पोखरा, ८ चैत – छोटो समयको साहसिक गन्तव्य हो, मर्दी हिमाल । नेपालीलेभन्दा विदेशीले पहिले चिनेको हिमाल पनि हो, यो । अन्नपूर्ण क्षेत्र अन्तर्गतका थुप्रै पदयात्रा मार्गहरु सडक मार्गको चेपुवामा परेपछि बैकल्पिक मार्गको रुपमा यो पदयात्रा सुरु भएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टर तथा स्थानीय बासिन्दाको सहयोगमा सन् २०११ अगाडि नै यो पदयात्रा मार्गको पहिचान तथा प्रवद्र्धन गरिएको थियो ।छोटो अवधिमा नै चार हजार छ सय मिटर अग्लो स्थानको पदयात्रा गर्न पाइनु यो मार्गको मुख्य विशेषता हो ।
पोखराबाट काँडे वा धम्पुस हुँदै पोथना, पितम देउराली, कोकर (फरेष्ट केम्प), हुमल (लो केम्प), हाई केम्प पुगेर सिदिङ र मर्दी पुल हुँदै पुनः पोखरा फर्कन सकिन्छ । मुख्य गरी गुरुङ, तामाङ, वाहुन, क्षत्री र दलितहरुको बसोवास यो क्षेत्रमा रहेको छ । सिदिङमा तामाङ संस्कृतिसँग साक्षात्कार हुन सकिन्छ । पोखराबाट एक हप्तामै मर्दी हिमाल पदयात्रा सम्पन्न गर्न सकिन्छ । छिटो हिँड्नेहरुले ४ दिनमा पनि यो पदयात्रा पूरा गर्छन् ।
निकै कम पदयात्रीले मात्र पदयात्रा गरेका कारण यो क्षेत्रको पदयात्रा शान्त, सफा र नयाँ अनुभुति दिने खालको रहेको टान पश्चिमाञ्चलका पूर्व अध्यक्ष दीपक अधिकारीको भनाई छ । परम्परागत गाउँ, नजिकको दुरीमा पोखरालाई देख्न सकिने विशेषता, माछापुच्छ«े र धौलागिरी लगायतका थुपै्र हिमालहरुको नजिकबाट अवलोकन गर्न सकिने, लालीगुराँ र जंगली जनावर तथा डाँफे लगायतका चराहरुको आकर्षण यो मार्गमा विद्यमान छन् । यो पदयात्रा मार्ग अन्तर्गत चारहजार मिटर माथिको उचाईमा समेत भँेडा र भैँसी पालन देख्न सकिन्छ ।
मर्दी हिमाल पदयात्रा आकर्षक, सुन्दर एवं सहासिक, जैविक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण भएकैले पछिल्लो समय यो पदयात्र लोकप्रिय रहेको माछापुच्छ«े गाउँपालिका घलेलका राम गुरुङले बताए । चैत, वैशाख, मंसीर, पुस र माघ जस्ता महिनाहरु यो पदयात्राका लागि राम्रो मानिन्छन् । पोखरा आउने पर्यटकको बसाईलाई केही दिनका लम्ब्याउन यो पदयात्रा मार्ग सबैभन्दा राम्रो विकल्प बनेको उनको भनाई छ । यो पदयात्रा मार्गबाट अन्नपूर्ण आधारशिविर जाने मार्ग, घान्द्रुक–घोरेपानी ट्रेक, माछापुच्छ«े मोडल ट्रेक र पश्चिम नेपालका सात वटा जिल्लाहरु समेत देख्न सकिन्छ । यसअघि अर्गनाइज्ड क्याम्पिङ पदयात्रा हुने यो क्षेत्रमा पछिल्लोपटक आवास सहितको टी हाउस पदयात्रा समेत समेटिएको छ ।
पाँच हजार पाँच सय ८७ मिटर अग्लो मर्दी हिमालको फेदीमा रहेको हाई केम्प चार हजार एक सय मिटरको उचाईमा रहेको छ । यहाँबाट पदयात्रीहरु थप पाँच सय मिटर उचाई सम्म पदयात्रा गर्छन् । वेलायती नागरिक वेसिल गुडफेलोले सन् १९५३ मा मर्दी हिमालको तस्वीर लिएपछि पश्चिमा जगतमा यो हिमालले चर्चा पाएको थियो । जिम्मी रवर्टस्ले दुई शेर्पाहरुको साथमा त्यसको आठ वर्षपछि सन् १९६१ मा पहिलोपटक यो हिमाल चढेपछि मर्दी हिमाल थप चर्चित हुन पुगेको थियो । मर्दी हिमाल पदयात्राको क्रममा बुधबार एक जापानिज नागरिकले ज्यान गुमाए । यसअघि मनिपाल कजेलमा पढ्दै गरेकी एक विद्यार्थीको सोही यात्राको क्रममा मृत्यु भएपछि यो हिमाल फेरि चर्चामा आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->