म्याग्दी, १० चैत –हिमपातका कारण डेढ महिनादेखि ठप्प रहेको गुर्जा जाने बाटो स्थानीयले हिउँ पन्छाएर खुलाएका छन् ।
म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं २ लुलाङ,देउराली,लट्बाङ हुँदै गुर्जा पुग्ने पैदलमार्गमा करिब २ फिट जमेको हिउँलाई पन्छाएर बाटो खुला गरिएको धौलागिरि गाउँपािलकाका प्रवक्ता तथा गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
‘करिब डेढ महिनादेखि पटक पटक हिउँ परेपछि बाटो अवरुद्ध भएको थियो’ छन्त्यालले भन्नुभयो ‘पैदलयात्री,खाद्यान्न ढुवानी र खच्चड आवतजावत गर्न समस्या भएपछि स्थानीयले दुईदिनसम्म श्रमदान गरेर बाटो खुलाएका हौं ।’
हिउँ पन्छाएर बाटो खुलाएपछि पैदलमार्गमा अब कुनै समस्या नरहेको उहाँले बताउनुभयो । लुलाङ र गुर्जाको सीमानामा पर्ने देउरालीमा करिब चार फिट हिउँ जमेर हिड्न नसक्ने भएपछि स्थानीयले बैकल्पिक मार्ग बनाएका थिए । तर, त्यो मार्ग पनि जोखिमयुक्त भएपछि बन्द गरिएको थियो ।
गुर्जा पुग्ने बाटो मर्मत गरिएपछि विहीबार र शुक्रवार स्थानीय व्यक्तिहरु सोही बाटो हुँदै आवतजावत गरेका छन् भने खच्चडबाट समान पनि डुवानी गरिएको वडाअध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।
देउराली गुर्जा गाउँ जोड्ने घना जंगल हो । चट्टानजस्तै हिउँ नपग्लिदाँ गुर्जाबाट गाउँपालिकाको केन्द्र हुँदै सदरमुकाम बेनी आउने स्थानीयले गुर्जाबाट मुदीको अर्चे हुँदै मुनातर्फ जाने गरेपनि सो बाटा पनि अत्यन्त जोखिमपूर्ण रहेकाले समस्या भएको थियो । गुर्जामा एउटै वस्तीमा करिव ३ सय घरधुरीको बसोबास रहेको छ ।






