बागलुङ,१२ चैत –समाजमा बढ्दो बिसंगती अन्त्यका लागि बडिगाड गाउँपालिकाले औपचारिक अभियान थालेको छ । बडिगाड गाउँपालिकाले सामाजिक विकृति बिसंगती र कुरीती विरुद्धको अभियान भन्दै थालेको यो अभियानले समाजलाई सभ्य बनाउने लक्ष राखेको हो । समाजमा बढ्दो जुवातास, जाडरक्सी सेवन, बालबिवाह, दाइजो प्रथा र अन्य वानी व्यवहारले धेरै मानिस पिडित थिए । त्यतिमात्र होइन बाहिरी समाजले हेर्ने दृष्टीकोण पनि नकारात्मक थियो । यो अभियान थालेपछि धेरैको ध्यान बडिगाडमा परेको छ ।
अवैध रक्सी उत्पादन र बिक्री वितरण रोक्ने, अन्य विसंगतीमा प्रहार गरेर निस्तेज बनाउने लगायत लक्ष राखेको अभियानले समाजमा राम्रो सन्देश दिने आसा पनि गरिएको छ । हामीले शुरु नगरे कसले गर्ने, अहिले शुरु नगरे कहिले गर्ने भन्ने नारालाई गाउँपालिकाले मुर्त रुप दिन लागेको देखिन्छ । बिदालय तहका बालबालिकादेखि बुढापाका सम्मले बिभिन्न प्रकारका दुव्र्यसनीमा लाग्दा समाजमा आर्थिक, सामाजिक र स्वास्थ्यको बिकास हुन नसकेको प्रष्टै देखिन्छ । बाल बिबाहले बालबालिकाको पढाई बिग्रने खतरा छ । त्यस्तै बिचैमा पढाई छाड्दा रोजगारीका अवसर पनि बन्द भए । जुवातासमा लाग्दा भएको अचल सम्पत्ति समेत सकिंदै गएको छ । दिनदिनै मानिस गरिब बन्ने प्रवृत्तिलाई गाउँपालिकाले समयमै चिनेको देखिन्छ ।
त्यसोत तमानखोला गाउँपालिकाले पनि अघिल्लो बर्षदेखि बाल बिबाह अन्त्यको अभियान चालेको छ । बिद्यालय तहबाटै धेरै बालबालिका बिबाहको बन्धनमा फस्दा शिक्षा, स्वास्थ्य र आर्थिक अवस्थामा कमजोर भएको प्रष्टै देखिन्छ । सानै उमेरमा सुत्केरी हुँदा महिलामा आउने रोग र समस्याले बर्षौ सम्म गाँजेको छ । आर्थिक रुपमा कमजोर बन्दै जाने समस्या छ । कमाई गर्ने समयमा रोगको उपचारमा खर्च गर्नुपर्दा आर्थिक संकट लाग्ने स्वभाविक हो । यस्ता अभियानलाई अब जनप्रतिनिधिले आमा समूह, बिद्यालयका बाल क्लब, युवा समूह समेतमा जोडेर लैजान जरुरी छ । किनकी युवा र बालबालिकाले राम्रो कुरा बुझेको खण्डमा समाज परिवर्तनमा सजिलो हुन्छ । अभिभावक र आमाहरुले बुझ्दा घरमा छोराछोरीलाई सुधार्न सक्छन् । बिशेषगरी जतापायो त्यतै पाईने मदिरा र चुरोटले अझै बालबालिका र किसोर समूहमा बढी असर गरेको छ । देखासिकी गरेर सिक्दै लतमा लाग्ने बानीले समाजलाई गाँजेको हो । त्यस्ता बस्तुबाट किसोर समूहलाई टाढै राख्ने अभियान हरेक अभिभावकले गर्नै पर्ने देखिन्छ ।
कानूनले २० बर्ष काटेपछि मात्र विवाह गर्न पाउने व्यवस्था भएपनि सानैमा बिवाह गर्न अभिभावकनै लागेको देखिन्छ । त्यसैले अब अभिभावकले २० बर्ष सम्मको उमेरलाई पढ्ने लेख्नेमै लगाउनु पर्छ । छोराछोरीलाई आत्म निर्भर बनाएपछि मात्र बिबाहको लागि तयार पार्नुपर्छ । प्रौढहरुले बालबालिकाले देख्ने गरी खुला स्थानमा बसेर ताल खेल्ने, रक्सी पिएर अभद्र व्यवहार गर्ने प्रवृत्तीले पनि धेरै बिसंगती आएको प्रष्ट छ । त्यसकारण अभिभावकले बरु अर्गानिक कृषिमा लाग्ने, बालबालिका लाई माटो, पानी र कृषि प्रविधिको महत्व बुझाउने अभियान थाल्नुपर्ने देखिन्छ । बालबालिकाले माटोको महत्व बुझ्न सकेका छैनन् । बिसंगती बिरुद्ध लाग्ने अभियानमा वातावरण बुझाउने र वातावरणमा रमाउने क्रियाकलाप पनि थाल्न सकियो भने समृद्ध नेपालको कल्पना पुरा हुनेछ ।





