म्याग्दी ,१४ चैत -सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा बुधबारदेखि तीन दिने निःशुल्क योग शिविर शुरु भएको छ ।
शिविरको शुभारम्भ गर्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले योग स्वास्थ्य,आचार विचार र जीवन पद्यतिका लागि निकै महत्वपूर्ण रहेको बताउँदै सबैलाई नियमित रुपमा योग गर्न, शिविरमा नै निशुल्क रक्त परिक्षण गर्न र आयुर्वेद शिविरमा पनि सहभागि हुन सबैलाई आग्रह गरेकी थिईन ।
मन्त्री पुनले म्याग्दीबाट सुरु गरिएको शिविर प्रदेशका ११ ओटै जिल्लामा गर्ने योजना रहेको जानकारी समेत जानकारी दिइन् ।
तीन दिनसम्म संचालन हुने योग शिविरमा प्रमुख प्रशिक्षक डा. योगी विकासन्दले स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण कुरा भएकाले यसतर्फ सबै सचेत रहनु पर्ने र नियमित योगाका साथै खानापान र स्वास्थ्य परिक्षणमा पनि सचेत रहन आग्रह गरे ।
सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका सांसद विनोद केसी, जिल्ला समवन्य समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लगायतको उपस्थित थियो ।
शिविरमा योगी विकासन्दसहित मन्त्री पुन, सांसद केसी लगाएत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, बजारबासी, सरकारी तथा गैरसरकारी संस्थाका कर्मचारी, पत्रकार, शिक्षक,विद्यार्थी,सर्बसाधारण लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापन नविन आनन्द योग केन्द्र म्याग्दीले गरेको थियो ।





