पोखरा, २० चैत – गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादवले संविधानमा लेखिए अनुसार सनातन धर्मको रक्षा गर्दै धर्म परिवर्तनलाई दण्डनीय बनाउनुपर्ने बताएका छन् । उनले पैसाको खेलमा धर्म परिवर्तन गरिँदा त्यस्तो प्रवृत्तिलाई डण्डित गर्नको लागि सोही अनुरुपको कानून निर्माणमा पनि जोड दिएका छन् ।
उनी पोखरामा मंगलबार कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७५’ बाट अग्रज पत्रकार किशोर नेपालाई सम्मान गर्दै थिए । उनले धर्म परिवर्तनलाई डण्डनीय नबनाए देशमा फेरि द्धन्द्धको बिउ रोपिने जिकिर पनि गरे । यसैगरी उनले चुरे बिनासले मधेशमा पानीको अभाव हुन थालेको जानकारी दिँदै चुर बिनास नरोकिए मधेशतिर जल र अन्नको लागि द्धन्द्ध सृजना हुने पनि दावी गरे । एउटा राजमार्ग हुँदाहुँदै बाटो र रेलको नाममा चुरे बिनास गर्न नहुने उनको सुझाव थियो । पूर्वराष्ट्रपति यादवले संविधान अनुसार देशलाई अगाडि बढाउनु नै अहिलेको आवश्यकता भएको बताउँदै भने,‘सत्ता र प्रतिपक्ष दुबै व्यवस्थित होस् भन्ने मेरो चाहना हो ।’
आफू संवैधानिक ठाउँबाट अवकाशप्राप्त व्यक्ति भएकोले सबै विषयमा खुलेर बोल्न नमिल्ने र आफ्नो सीमा आफै निर्धारण गर्नुपर्ने बाध्यतामा रहेको उल्लेख गर्दै उनले आफूले मधेश र पहाडको विभाजन रेखा मेट्दै संविधान जारी गरेको जिकिर गरे । 
कार्यक्रममा बोल्दै सो पत्रकारिता पुरस्कारका संस्थापक तथा सांसद सूर्यबहादुर केसीले धर्म र संस्कृतिको रक्षा गर्दै देशको विकासमा लाग्नु नै सच्चा राष्ट्रप्रेम भएको बताए । उनले पत्रकार किशोर नेपालको प्रशंसा गर्दै आफूले पत्रकारितासँगै बृद्धबृद्धाहरुलाई पनि सघाउने उद्घोष गरे । अर्की सांसद बृन्दा रानाले अहिलेको सरकारले प्रेसलाई संकुचनमा राख्न खोजको आरोप लगाइन् । उनले पत्रकारितामाथिको आक्रमण लोकतन्त्रमाथिकै आक्रमण भएको बताइन् ।
पुरस्कृत व्यक्तित्व अग्रज पत्रकार किशोर नेपालले शासन गर्ने मान्छको महत्वकांक्षा बढ्दा प्रेस संकुचनमा पर्ने धारणा राखे । उनले मन्त्रीपरिषदको बैठकपछि हरेकपटक सरकारका प्रवक्ताले प्रेसप्रति औंला ठड्याउँदै आएको बताउँदै यस्तो प्रवृत्ति संसारभर देखिएको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारितामाथि आक्रमण भए आफूहरु त्यसका बिरुद्ध सडकमा ओर्लने बताए । पुरस्कार छनौट समितिका संयोजक तथा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष बद्रिविनोद प्रतिकले पुरस्कृत व्यक्तित्व नेपाली पत्रकारका धरोहर भएको धारणा राखे । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले केसी परिवारले पत्रकारिताप्रति देखाएको माया सह्रानीय भएको बताए । नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष बिमला भण्डारीको स्वागत तथा सचिव रामप्रसाद तिमिल्सिनाको संचालनमा भएको कार्यक्रममा विभिन्न क्षेत्रका सामाजिक र राजनीतिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सांसद तथा उद्योगपति सूर्यबहादुर केसी तथा उहाँका धर्मपत्नी प्रेमकुमारी केसीको नाममा रहेको ट्रष्टद्धारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा संचालित पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र रहेको छ ।





