बागलुङ/गत असोज ११ गते निसीखोला आएको बाढीले लघु जलविद्युत आयोजनाको नहर क्षतविक्षत बनाएपछि श्रमदान जुटाएर मर्मत गरिएको छ ।
बाढीले निसीखोला गाउँपालिका वडा नं. २ मा विद्युत गृह रहेका निसीखोला पहिलो र बायखोला लघु जलविद्युत आयोजनाको साढे ३ मिटर नहर बगाएको थियो । बाढीले नहर तहसनहस हुँदा निसीखोला–१ र २ वडाका १५ सय घरधुरी अन्धकारमा बस्न बाध्य थिए ।
प्रत्येक २ सय ५० जनाका दरले ७ दिनसम्म सेवाग्राहीहरु नहर मर्मतमा खटिएपछि अस्थायी रुपमा भएपनि घर घरमा बिजुली बलेको छ । ‘‘स्थानीयबासी नै श्रमदानमा जुट्न तयार भएपछि अस्थायी रुपमा भएपनि नहर मर्मत गरेर बिजुली बाल्ने प्रयास सफल भएको छ’’ बायखोला लघु जलविद्युत आयोजनाका अध्यक्ष भरत पुनले भने ।
आयोजनाको नहर मर्मत गरिएपनि खोलामा पानीको बहाव घट्दै जान थालेपछि स्काभेटर नै प्रयोग गरेर नहरमा पानी तर्काउने काम भने चलिरहने छ । ‘‘नहर मर्मत गरेर एउटा आयोजनाको टर्वाइन चलाएर मोबाइलसम्म चार्ज गर्ने अवस्था बनेको थियो, खोलामा पानी घटेपछि हामी फेरी अन्धकारमै बस्न बाध्य भएका थियौं, मेशिन लगाएर पानीको बहाव नहरमा फर्काएपछि आयोजनाका दुवै टर्वाइन चलेका छन्’’ पुनले भने ।
अहिले नहरको अस्थायी संरचना बनाएर केही समयका लागि बिजुली बाल्ने प्रयास भएपनि आयोजनाको स्थायी संरचना बनाउन ठुलो रकम खर्चिनुपर्ने अनुमान छ । हिउँद लागेपछि खोलामा पानीको तह घट्ने हुँदा अस्थायी संरचनाले काम चलाउन नसकिने अध्यक्ष पुन बताउँछन् । ‘‘बाढीले क्षति पु¥याएका आयोजनाका संरचना स्थायी बनाउन नसके हामी फेरी अन्धकारमै बस्नुपर्ने दिन आउने छ’’ पुनले दुखेसो पोखे ।
आयोजनाले संरचना मर्मत गर्न झण्डै ७ लाख रुपैयाँ लाग्ने अनुमान गरेको छ । अहिले सेवाग्राहीबाट रकम संकलन गरेर खोलाको पानी नहरमा तर्काउन एक्साभेटर चलाइरहेको आयोजनाले मर्मत खर्च पनि आफै जोहो गर्ने योजना बनाएको छ ।
आयोजना मर्मतमा गुहार माग्दा स्थानीय सरकारले साना जलविद्युत आयोजनामा लगानी गर्दा बेरुजु आउँछ भन्ने जवाफ दिएको पुनले बताए । ‘‘केन्द्र सरकारसंग सहयोग माग्दा केन्द्रिय प्रशारण लाइन जोड भन्छ’’ पुनले भने । निसीखोलामा केन्द्रिय प्रशारण लाइनको विद्युत विस्तार भएपनि त्यहाँका बासिन्दा लघु जलविद्युतमै निर्भर छन् ।
केन्द्रिय विद्युत जोड्न निसीखोलाबासी तयार रहेपनि त्यसको प्रत्यक्ष फाइदा सिमित नागरिकलाई मात्र हुने अध्यक्ष पुन बाध्यता सुनाउँछन् । ‘‘केन्द्रिय लाइन मध्यपहाडी लोकमार्ग आसपास मात्रै विस्तार छ, यहाँका ९० प्रतिशत जनता पहाडको धुरीमा बस्छन्’’ पुनले भने, ‘‘गाउँ गाउँमा विद्युत विस्तार भए हामी जोड्न तयार छौं ।’’
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलिप मरासिनी बजेट अभावकै कारण निसीखोलाको ग्रामिण क्षेत्र विद्युत लाइन विस्तार गर्न नसकिएको बताउँछन् । ‘‘नियमित बजेटले प्राकृतिक विपद्बाट हुने क्षतिमा काम गर्न ठिक्क छ, केन्द्रमा थप बजेटको माग गर्ने र आएपछि मात्र विद्युत विस्तारको प्रक्रिया अघि बढ्ने छ’’ मरासिनीले भने ।





