पोखरा,२२ चैत -अस्पताल प्रशासन र मृतकका आफन्तबीच कुरा नमिल्दा बिहीबार पनि बागलुङका धनबहादुर परियारको शव उठ्न सकेन । अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै आएका मृतकका आफन्तलाई अस्पताल प्रशासनले एक रुपैयाँ पनि क्षतिपूर्ति नदिने बताएपछि शब उठन नसकेको हो । गएको मंगलबार बाग्लुङको जैमिनी नगरपालिका ८, ढकालबारीका ७५ वर्षीय धनराज परियारको उपचारको क्रममा अस्पतालमै निधन भएको थियो । आफन्तले शव उठाउन नमानेपछि बुधबार र बिहीबार अस्पताल प्रशासन र मृतकका आफन्तहरुबीच पटक–पटक वार्ता भएको थियो । वार्ताको क्रममा अस्पताल प्रशासनकोतर्फबाट वार्तामा बसेका अस्पतालका निर्देशक ए एल शर्माले क्षतिपूर्ति नदिने तर अस्पतालमा लागेको खर्च र एम्बुलेन्स खर्च दिने प्रस्ताव गरेका थिए ।
मृतकका आफन्तका अनुसार डा. शर्माले अस्पतालले एक रुपैयाँ पनि क्षतिपूर्ति नदिने बताएका छन् । बिरामीका आफन्तको भनाई छ, ‘डा. शर्माले गलत औषधीले मृत्यु भएको प्रमाण भए अदालत जानुहोस, हामीले एक रुपैयाँ पनि दिन्नौँ भन्नुभएको छ, नाममात्रको वार्ता भएको छ ।’अस्पतालले मृतक परियारको उपचार खर्च देखि पोष्टमार्टम खर्च र एम्बुलेन्स खर्च व्यहोरिदिने शर्तमा शव लैजान भनेको छ । तर, मृतकका आफन्तहरुलेचाहिँ बिहीबार पनि शव उठाएनन् ।
‘अस्पतालले औषधीको कारण मृत्यु नभएको जिकिर गरेको छ, प्रमाण लिएर आए सबै क्षतिपूर्ति दिने भनेको छ, तर गलत औषधीकै कारण बिरामीको निधन भएको हो, हामी के गर्ने सल्लाह गर्दैछौँ’ मृतकका आफन्तले भने ।
घटना मंगलबारको हो । बाग्लुङको जैमिनी नगरपालिका ८, ढकालबारीका ७५ वर्षीय धनराज परियार खोकी लाग्ने र टाउको दुखेपछि उपचारको लागि मनिपाल अस्पताल आएका थिए । उनको साथमा आएका छोरा केशवका अनुसार अस्पताल आउनासाथ धनबहादुरलाई ईमरजेन्सी कक्षमा राखियो । त्यहाँ ईसिजी गराईयो, रिपोर्टमा भने केहि देखिएन । त्यसपछि परियारलाई डाक्टरहरुले ओपिडीमा पठाए । राती करिब ८ः३० बजे ओपिडीमा नै धनबहादुरको निधन भयो ।
मृतकका छोरा केशव भन्छन, ‘त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुले सँगैको बेडमा रहेका अर्को बिरामीको लागि ल्याइएको सुई उनकै बेडबाट निकालेर बुबालाई लगाएकाले बुबाको मृत्यु भएको हो;, सुई लगाउनासाथ बुबा वाकवाकी लाग्यो भनेर निस्कनुभयो र दुई मिनेटमै उहाँको निधन भयो ।’ स्वास्थ्यकर्मीले अर्काको लागि राखिएको सुई पितालाई लगाएको कुरुवा बसेकी बहिनी बिमलाले देखेको र सुई लगाएपछि स्वास्थ्यकर्मीहरु पनि जिब्रो टोक्दै बाहिर निस्केको उनले दाबी गरे ।
यता, अस्पताललेचाहिँ औषधीका कारण बिरामीको मृत्यु नभएको जनाएको छ । मृतक परियारका आफन्तका अनुसार अस्पतालका निर्देशक ए.एल शर्माले गलत औषधी प्रयोग भएको स्विकारेका छन् । ‘औषधी गलत प्रयोग भएकै हो, तर गलत औषधीका कारण बिरामीको निधन भएको होईन्’ शर्मालाई उधृृत गर्दै बिरामीका आफन्तले भने । डा. शर्माको मोबाईल फोन भने लगातार अफ छ । उनी सम्पर्कमा आएका छैनन् ।
यता गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पनि मनिपाल अस्पताल पुगेका छन् । सांसद थापाका अनुसार ५० हजार रुपैयाँ अस्पतालले दिने कुराकानी मात्र भएको छ । ‘५० हजारसम्म दिने भनेको छ रे, गलत औषधीकै रियाक्सनका कारण बिरामीको मृत्यु भएको हो, अस्पतालले धम्कीको भाषा बोल्दै अदालत जान भन्छ, यो देशमा न्याय पनि नपाईने भयो ।’ थापाका अनुसार शुक्रवार पनि छलफल हुनेछ ।मनिपाल अस्पताल कर्मचारीलाई तलब नदिनेदेखि लिएर, अस्पताल तालाबन्दी लगायतका विषयमा बारम्बार विवादमा आईरहेको छ ।





