बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

मान्छे भागेर बाचे, पशु दाम्लोमै मरे

मान्छे भागेर बाचे, पशु दाम्लोमै मरे


  • अनिष पाठक
  • असोज २१ २०८३, बुधबार

खर्वाङ (बागलुङ)/अकस्मात अगङ्गको पहिरो खस्दै गरेको देखिन्छ; मान्छे आफन्त र केही बहुमूल्य सामान लिएर भाग्छन् । यसपालिको मौसमी विपद्मा बागलुङमा पनि ठाउँ ठाउँमा यस्तो देखियो । यसरी गएका पहिरोमा मान्छे जोगिए, धेरै पशु भने पुरिएर मरे ।

असोज ८ देखि १२ गतेसम्मको विपद्का बेला बाधिएका, थुनिएका धेरै पशु पुरिए । पोखरीका माछा खोलामा बगे, गोठका पशु पहिरोमा पुरिए । बंगुर, हाँस, कुखुरा र बाख्रा कति बगे, कति पुरिए, क्षतिको यकिन अझै भइसकेको छैन ।

बाढी, पहिरोबाट बागलुङका ६ पालिकामा पशुधनको क्षति भएको तथ्याङ्क भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले संकलन गरेको छ । ढोरपाटन, गलकोट र बागलुङ नगरपालिका तथा ताराखोला, निसिखोला र तमानखोला गाउँपालिकामा पशुधनको क्षति भएको हो ।

कार्यालयका पशु चिकित्सक केशवराज शर्माले ६ पालिकाका ६७ गोठ तथा ७ माछापोखरीको रेसवेमा क्षति पुगेको छ । ‘पालिका प्रतिनिधिले सोमबारसम्म उपलब्ध गराएको तथ्याङ्क अनुशार हामीले क्षतिको विवरण तयार पारेका हौँ । करोडभन्दा बढीको पशुधन क्षति भएको छ,’ उनले भने ।

शर्माका अनुशार ढोरपाटन नगरपालिकामा ४, ताराखोला गाउँपालिकामा १२, बागलुङ नगरपालिकामा १, गलकोट नगरपालिकामा ४०, निसिखोला गाउँपालिकामा ४ र तमानखोला गाउँपालिकाका ६ गोठ तथा खोरमा क्षति पुगेको छ । गलकोट नगरपालिकाका ७ वटा माछा पोखरीको रेसवेमा पनि क्षति भएको छ ।

६७ गोठ तथा खोर र ७ माछा पोखरीको रेशवेमा क्षति पुग्दा १२ वटा गाई÷गोरु, २३ वटा राँगा÷भैंसी, ६९ वटा भेडा÷बाख्रा, ५३ वटा बंगुर, ५ सय ५८ वटा कुखुरा, ८ वटा हाँस र ५ सय ६० केजी तयारी माछामा क्षति पुगेको हो ।

अहिले जिल्ला विपदको टोली मानवीय क्षति र भौतिक क्षतिको यकिन गर्न लागेको छ । विस्थापितहरुको व्यवस्थानमा केन्द्रित बनेको टोलीले पशुधनबाट जीविकोपार्जनको अधार गुमाएकाहरुकालागि पनि छुट्टै योजना ल्याउनुपर्ने सरोकारवालाको माग छ ।

बाढीले गलकोटको दरमखोला रेम्बो ट्राउट चिसापानीमा पनि ठूलो क्षति गरेको छ । ट्राउटका सञ्चालक हुम थापाले प्राकृतिक विपतिले आफूले नेपालमा देखेको सपना टुटेको सुनाए । ‘विदेश जान प्रयास नगरेको होइन । तर काम नबनेपछि देशमा केही गर्छु भनेर एउटा ठूलो साहस र आँट लिएर ट्राउट सञ्चालन गरियो,’ उनले भने,‘दुःखको कुरा प्राकृतिसँग कसको के लाग्छ र?सबै सपना क्षणभरमै चक्नाचुर बनायो ।” शुभचिन्तक र सरकारको साथ पाए फेरि उठेर देशमै केही गर्ने उनको सपना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->