बागलुङ/प्रहरीले बागलुङको निसीखोला गाउँपालिका–१ देविस्थानको सल्लेरी सामुदायिक वनमा बेवारिसे अवस्थामा भेटिएका ७ थान भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान करिब ९ बजे गस्ती गर्ने क्रममा इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले सामुदायिक वनस्थित वनमाराको झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
प्रहरी निरीक्षक याम नारायण कँडेलका अनुसार, बरामद गरिएका १ नाले ७ थान भरुवा बन्दुकमा काठको कुन्दासहितको संरचना रहेको छ । बन्दुक कसले र कुन प्रयोजनका लागि जंगलमा लुकाएर राखेको भन्नेबारे अनुसन्धान अघि बढेको कँडेलले जानकारी दिए ।
प्रहरीले बेवारिसे अवस्थामा रहेका अवैध हातहतियार नियन्त्रणमा लिने अभियानअन्तर्गत गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ ।





