बागलुङ/सहकारी संघ, संस्थाका ऐन, नियमबारे परामर्श तथा अन्तक्र्रिया बागलुङ बजारमा भएको छ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा, राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोग तथा चारतारे युवा क्लव, सिवाईसी नेपालको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अधिकृत नारायण बेलबासेले सहकारी क्षेत्रको विद्यमान कानुनी व्यवस्था, सहकारी ऐन, नियमावली तथा सहकारी संघ–संस्थाले पालना गर्नुपर्ने कानुनी तथा नियामकीय व्यवस्थाका विषयमा सहजीकरण गरे ।
कार्यक्रममा सहकारी संघ, संस्थाको सञ्चालन, संस्थागत सुशासन, सञ्चालक समिति तथा व्यवस्थापनको भूमिका, सदस्यको अधिकार तथा दायित्व, वित्तीय अनुशासन, बचत तथा ऋण कारोबार, कर्जा व्यवस्थापन, लेखा तथा अभिलेख व्यवस्थापनलगायतका विषयमा छलफल तथा अन्तक्र्रिया भयो ।
कार्यक्रममासहकारीकर्मीहरूले सहकारी सञ्चालनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्याहरू, नियामकीय व्यवस्था कार्यान्वयनमा देखिएका चुनौती तथा संस्थागत सुधारका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए । कार्यक्रमले सहकारी संघ, संस्थाका सञ्चालक तथा कर्मचारीलाई विद्यमान कानुनी व्यवस्थाबारे थप स्पष्टता प्रदान गर्नुका साथै संस्थागत सुशासन, वित्तीय अनुशासन र प्रभावकारी सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
संघका अध्यक्ष पौडेलले सहकारी संघ–संस्थाहरू ऐन, नियम तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै संस्थागत सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए ।





