बागलुङ / जिल्लाको ताराखोला गाउँपालिकाले बाढी, पहिरोमा ज्यान गुमाएका पालिकाबासीका परिवारलाई राहत प्रदान गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालले पीडितको घरमै पुगेर राहत हस्तान्तरण गरिएको जानकारी दिए ।
गाउँकार्यपालिकाको निर्णय अनुसार सबै मृतकका परिवारलाई १/१ लाख रुपैयाँ राहत प्रदान गरिएको हो । राहत प्रदान गर्न गाउँपालिका अध्यक्ष, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहितको टोली पिडितको घरमा नै पुगेको थियो ।
यही असोज ८ देखि ११ गतेको बाढी, पहिरोमा परी ताराखोला गाउँपालिकामा ३ जनाको मृत्यु भएको थियो ।
गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनस्र्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न अपिलसमेत गरेको छ ।
बाढीपहिरोबाट घरबास, सडक, विद्यालय भवन, सार्वजनिक भवन, विद्युत् संरचना तथा प्रसारण लाइनमा क्षति पुगेको छ ।





