पर्वत/सोमबार साँझ अचानक मौसममा आएको परिवर्तनसँगै परेको हावाहुरी र बाक्लो असिना पानीले पर्वतको कुश्मा नगरपालिका–१ पाङको सिँधाली क्षेत्रमा पाक्न लागेको धानबालीमा ठुलो क्षति पु¥याएको छ ।
असिनाले धान, कोदो, तरकारी तथा विभिन्न कृषि संरचनामा समेत क्षति पु¥याएको स्थानीय कृषकले बताएका छन् । स्थानीय कृषक नरहरि रिजालका अनुसार सिँधाली क्षेत्रमा धान काट्ने समय नजिकिँदै थियो । अबको १०/१२ दिनमा धान काट्ने तयारी भइरहेको अवस्थामा असिना पानीले पाक्न लागेको धान झारिदिएपछि किसान चिन्तित बनेका छन् । धान पहेँलिँदै दसैँअघि नै भित्र्याउने तयारीमा रहेका किसानको मेहनत असिनाले नष्ट गरिदिएको रिजालले बताए ।
उनका अनुसार सोमबार साँझ चर्को हावाहुरीसहित असिना परेको थियो । बाक्लो असिनाले खेतबारी र जमिन नै सेताम्मे देखिएको थियो । असिनाले धान बालीसँगै कोदो तथा गाउँमा लगाइएका हरिया तरकारीमा समेत ठुलो क्षति पु¥याएको छ । ‘अब भित्राउने बेलाको धान पुरै झारेर गराभरि भएको छ । हामीलाई यहाँभन्दा ठुलो चोक के पो पर्ने हो ? वर्षभरका लागि खेती लगायो मिनेटभरमा सखाप हुने भएपछि कृषकले गर्ने के हो ?’ कृषक रिजाल भन्छन्, ‘धान मात्रै होइन कोदो पनि झरेको छ । खेतबारीमा भएका टनेलमा भ्वाङ परेका छन् । कसैकोमा पानीका हिल ट्याङ्कमा पनि प्वाल परेका सुनेको छु ।’
हावाहुरीका कारण रुखहरू ढल्दा स्थानीय सडक तथा बाटोसमेत अवरुद्ध भएका छन् । असिनाले सोलार प्यानल, पानीका ड्रम, टनेललगायतका संरचनामा समेत क्षति पु¥याएको पाङका शिक्षक जयराम सुवेदीले बताए ।
कृषि ज्ञान केन्द्र पर्वतका तथ्याङ्क अधिकृत प्रकाश चौधरीका अनुसार धान बालीको विकासको अवस्थाअनुसार असिना पानीले फरक–फरक प्रकृतिको क्षति पु¥याउने गर्छ । कलिला बेर्नाका पात च्यातिनु, डाँठ भाँचिनु तथा बिरुवा नै नष्ट हुने अवस्था आउन सक्छ । यस्तो क्षतिले बिरुवाको खाद्यान्न बनाउने क्षमता घटाउँदा बाला राम्रोसँग ननिस्कने र दाना कम लाग्ने समस्या देखिन सक्छ ।
धान फुल्ने तथा दाना लाग्ने अवस्थामा परेको असिनाले भने अझ ठुलो क्षति पु¥याउन सक्ने चौधरीले बताए । असिनाका कारण फूल झर्ने, परागसेचनमा समस्या आउने र दानाभित्र केही नभर्ने अवस्था सिर्जना हुँदा उत्पादनमा ५० देखि सत प्रतिशतसम्म कमी आउन सक्ने उनको भनाइ छ ।
त्यस्तै, धान पाक्ने अवस्थामा असिना पर्दा बाला भाँचिने, दाना झर्ने तथा पात च्यातिने भएकाले दाना पूर्ण रूपमा भरिन नपाउने समस्या हुन्छ । यसबाट हल्का, पातलो वा खाली दाना बन्ने र चामलको गुणस्तरसमेत घट्ने कृषि प्राविधिकहरू बताउँछन् । भिजेको धानमा अँखुरा पलाउने, रङ बिग्रने तथा ढुसी लाग्ने जोखिमसमेत बढ्ने भएकाले किसानले उत्पादनसँगै बजार मूल्यमा समेत क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ ।
असिनाले धानको बोटमा चोटपटक र घाउ बनाउने भएकाले त्यस्ता घाउबाट ब्याक्टेरिया तथा ढुसी प्रवेश गरी विभिन्न रोगको प्रकोप बढ्न सक्ने चौधरीले बताए । विशेष गरी असिना पानीपछि धानका दाना काला हुने, कुहिने वा बालामै उम्रिनेजस्ता समस्या आउन सक्ने उनको भनाइ छ ।
कुश्मा नगरपालिकाका कृषि प्राविधिक बलबहादुर जि.टी.को नेतृत्वमा नगरपालिकाको कृषि प्राविधिक टोलीले प्रभावित क्षेत्रका किसानको खेतमै पुगेर असिना पानीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । असिनाले निकै ठुलो क्षति पु¥याएकाले किसानहरू दुःखी अवस्थामा रहेको उनले बताए ।





