बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

दसैंमा नेपालभर रुट परमिट खुला

दसैंमा नेपालभर रुट परमिट खुला

असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०८३, बुधबार

काठमाडौं / बडादसैंका बेला यात्रुहरूको सहज र सुरक्षित आवागमनका लागि घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिने भएको छ।

यातायात व्यवस्था विभागमा मंगलबार नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीसहित सरोकारवाला निकायको बैठकले दसैं अवधिभर देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको हो।

बैठकले यही असोज २३ गतेदेखि दसैंका लागि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णयसमेत गरेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए।

अध्यक्ष सिटौलाका अनुसार सडकको अवस्थालाई मध्यनजर गर्दै राजमार्गहरूमा यात्रुवाहक सवारीसाधनलाई पहिलो प्राथमिकता दिएर सञ्चालन गरिनेछ। त्यसपछि मात्रै अन्य सवारीसाधनलाई प्राथमिकता दिने व्यवस्था मिलाइनेछ।

दसैंको समयमा यात्रुले टिकट नपाएर सास्ती खेप्न नपरोस् र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकून् भन्ने उद्देश्यले व्यवस्थापकीय तयारी थालिएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए।

दसैंमा काठमाडौं उपत्यकालगायत मुख्य सहरहरूबाट ठूलो संख्यामा नागरिक घर फर्किने भएकाले यातायात सञ्चालन, भाडा नियन्त्रण तथा यात्रु सुरक्षामा विशेष निगरानी गरिने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->