पोखरा, २ बैशाख – प्रहरीबाट पक्राउ गरिएका नेपाल पत्रकामर महासंघ कास्कीका सदस्य, ताण्डवन्युज डटकम र ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरी हिरासतमुक्त भएका छन् । आइतबार पोखराबाट पक्राउ परेका उनी नेपाल पत्रकार महासंघको जिम्मामा काठमाण्डौंबाट हिरासतमुक्त भएका हुन् । उनलाई पक्राउ गरेलगत्तै काठमाण्डौं लगिएको थियो । पोखरा एक व्यवसायी विपिन बतास संलग्न ठगीबारे समाचार लेखेका उनलाई प्रहरीले साइबर क्राइमअन्तर्गत पक्राउ गरेको थियो । बतासको उजुरीको आधारमा पक्राउ परेका गिरीको बाँकी कानूनी प्रक्रिया भने सोमबारमात्र पूरा हुने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिए ।
यसअघि पक्राउको बिरोध गर्दै पत्रकार सम्बद्ध विभिन्न संघसंस्थाले उनको बिनासर्त रिहाईको माग गरेका थिए । नेपाल पत्रकार महासंघ कास्कीले समाचारउपर चित्त नबुझे नियमकारी निकायमा उजुरी गर्न सकिने कानूनी आधार हुँदाहुँदै पक्राउ गरिएकोमा बिरोध जनाएको थियो । अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उनको तत्काल रिहाईको माग गरिएको थियो । यसैगरी प्रेस सेण्टर नेपाल, प्रेस युनियन कास्की, रिपोर्टर्स क्लब नेपाल, कास्की शाखा, संसदीय पत्रकार मञ्च ,पोखरा, युवा पत्रकार सञ्जाल कास्की, खेलकुद पत्रकार मञ्चलगायतका संघसंस्थाले पनि उनको बिनासर्त रिहाईको माग गरेक थिए ।





