शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नीति तथा कार्यक्रम ‘गतिहीन’ : कांग्रेस

नीति तथा कार्यक्रम ‘गतिहीन’ : कांग्रेस


  • Dhorpatan News
  • बैशाख २१ २०७६, शनिबार

काठमाडौँ, २१ बैशाख – प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिद्वारा प्रस्तुत सरकारको नीति तथा कार्यक्रमले मुलुकबासीलाई झन् निराश बनाएको प्रतिक्रिया दिएको छ । नीति तथा कार्यक्रममा नयाँ विषय केही नभएको र सरकारले कमजोरी लुकाउन खाजेको आरोप प्रतिपक्षको छ । कांग्रेसले कार्यक्रमले राष्ट्रपतिलाई समेत विवादमा तानेको तर्क गरेको छ । नेता गगन थापाले कार्यक्रम सरकारको निजी हो वा मुलुकको भन्ने यकिन गर्न कठिन भएको बताए । विगतका प्रतिबद्धता पूरा नहुँदा जनता निराश भएको प्रसंग कोट्याउँदै थापाले आउने वर्ष झन् निराश हुने दावी गरे ।
‘यो वर्ष संघीयता कार्यान्वयनका हिसावले निराशाको वर्ष हो तर सरकारले यसलाई आत्मसात् गर्न सकेन । जनता निरास छन् तर नीति तथा कार्यक्रममा सबै राम्रैराम्रा कुरा मात्र आउनु दुर्भाग्य हो । कमजोरी ढाकछोप गर्न सामाजिक सुरक्षाका कुरा ल्याएर जनतालाई भुल्याउन खोजिएको छ’, उनले भने, ‘गत वर्षसम्म सरकारको नीतिका विषयमा समिक्षा हुनुपर्थ्याे , बाटो बिराएर अलमलिएको नीति आएको छ । यो नीतिले बजेट पनि आशालाग्दो आउने अपेक्षा गर्न सकिँदैन ।’ कांग्रेस सांसद नारायण खड्काले नीति तथा कार्यक्रम लक्ष्य र उद्देश्य नभेटिएको भद्रगोल दस्तावेज भएको बताए । ‘यो दस्तावेजले संघीयतालाई अलमल्याएको छ । कार्यक्रम प्रशस्त आएका छन्, यिनको कार्यान्वयन विषय प्रस्ट छैन । व्यापार घाटा बढ्दो छ, वैदेशिक सहयोग घटेको छ । राजस्व संकलनको अवस्था उत्साहजनक छैन,’ उनले भने ।
सबै खालका कार्यक्रम घोषणा गर्दैमा लक्ष्य पूरा नहुने भन्दै खड्काले सरकारले स्रोत पहिचान नगरी खर्च मात्रको कुरा गरेको जनाए । ‘दुई अंकको आर्थिक वृद्धिदर कसरी हुन्छ उल्लेख छैन, पूर्वमाओवादी र एमालेले नेतृत्व गरेको मन्त्रालयबीच नै समन्वय नभएको देखियो,’ उनले भने, ‘गोलमोटोल रूपमा कार्यक्रम बनाएर औपचारिकता पूरा गरेको देखिन्छ ।’
बजेटले मूर्तरूप दिने : सत्तापक्ष
नेकपाका सांसद घनश्याम भुसालले सामान्यतया सबै नीति कार्यक्रम यस्तै हुने गरेको बताए । ‘मुख्यतया यो कार्यक्रमलाई बजेटले बोक्छ कि बोक्दैन भन्ने हो । बजेटले जे कुरा बोक्छ त्यो कार्यान्वयन हुन्छ कि हुन्न भनेर भोलि हेर्ने हो । यो नीति कार्यक्रम जे आयो त्यसलाई अनौठो मान्न पर्ने देखिँदैन । हामी के चाहन्छौं भन्ने घोषणामात्र हो ।’ नेकपाकै अग्नि सापकोटाले नीति तथा कार्यक्रम मुलुकलाई दिशानिर्देश गर्न उन्मुख रहेेको बताए । उनले यसलाई अझ मूर्तरूप दिन बजेट कस्तो आउँछ हेर्नुपर्ने बताए । ‘बजेट ठोस र मूर्त भएर आउनुपर्छ, आधारभूत वर्गलाई छुने खालको बजेट आउनुपर्छ,’ उनले थपे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->