बागलुङ,२१ बैशाख -जिल्लाको अमलाचौरमा निर्माण गरीएको सुविधा सपन्न विद्यालय भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छिन् । बागलुङ नगरपालिका–१२ अमलाचौरको पृथ्वी हिरण्य माध्यमीक विद्यालयको भवन उद्घाटनका लागि बैशाख २३ गते राष्ट्रपति बागलुङ आउने तय भएको हो । विद्यालय भवन सँगै राष्ट्रपतिले हिरण्यप्रसाद ढकालको शालिक समेत अनावरण गर्ने कार्यक्रम रहेको छ ।
अमलाचौरका उद्यमी चन्द्र ढकाल र हेमराज ढकालले ६ करोड २४ लाख रुपैयाँ लगनाी गरेर विद्यालय भवन निर्माण गरेका हुन् । विद्यालय परिशरभित्रै निर्माण सम्पन्न भएको चन्द्र र हेमराजका पिता हिरण्यप्रसादको शालिक समेत उद्घाटनकै दिन अनावरण गर्ने कार्यक्रम बनाईएको वडाअध्यक्ष गुरुदत्त पाठकले बताए । राष्ट्रपति प्रसिद्ध वलेवा कालभैरव मन्दिरको दर्शन गर्ने कार्यक्रम समेत तय भएको छ । मन्दिर र विद्यालय परिसर झकिझकाउ पारीएको छ । राष्ट्रपतिसँगै शिक्षा मन्त्री गिरीराजमणी पोखरेल पनि बागलुङ आउने पाठकले जानकारी दिए । राष्ट्रपतिको स्वागतका लागि बिभिन्न समिति बनाईएको छ । सुरक्षा लगायतका सबै तयारी सुरु भएको पाठकले जानकारी दिए ।





