शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नीति तथा कार्यक्रमले बागलुङबासीमा पलायो आशा

नीति तथा कार्यक्रमले बागलुङबासीमा पलायो आशा


  • ढोरपाटन संवाददाता
  • बैशाख २३ २०७६, सोमबार

बागलुङ, २३ वैशाख – नेपाल सरकारले संघिय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले बागलुङ जिल्लामा उत्साह जगाएको छ । पूर्वपश्चिम मध्येपहाडी लोकमार्ग, उत्तरदक्षिण कालीगण्डकी कोरिडोर, बलेवा बिमानस्थल, उत्तरगंगा जलाशययुक्त जलबिद्युत आयोजना र यहाँ रहेका पर्यटकीय स्थलको समेत विकास र विस्तार हुनेमा बागलुङबासीमा आशा पलाएको हो । पूर्वपश्चिम मध्यपहाडी लोकमार्गलाई आगामी चार बर्ष भित्रमा सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यो सडकको १ सय ४२ किलोमिटर खण्ड बागलुङमा पर्छ । लोकमार्गको काम चार बर्षभित्रै सम्पन्न हुँदा बागलुङको अधिकांश भू–भागमा सहज सडक सुविधा पुग्ने छ । लोकमार्गको काम तीव्र बनाउने र समयमा नै सक्नेगरी नीति तथा कार्यक्रममा उल्लेख भएकाले नयाँ उत्साह थपेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए ।

लोकमार्गको बागलुङ बुर्तिवाङ खण्डमध्ये बागलुङ बजारदेखी काठेखोला गाउँपालिकाको घोडाबाँधेसम्म २६ किलोमिटर सडक मात्रै कालोपत्रे गर्न बाँकी छ । सरकारले प्राथमिकतामा राखेर उक्त सडकको स्तरोन्नती गर्ने उल्लेख गरेकाले आगामी एक बर्ष भित्रमा सडक कालोपत्रे हुने आशा जगाएको अध्यक्ष थापाले बताए । ‘लोकमार्गको काम समयमा सकिँदा हामीलाई ग्रामिण सडक निर्माण गर्न सहज हुन्छ’ थापाले भने ‘राष्ट्रिय गौरवको आयोजनासँग जोडेर हामीले पनि पालिकाका गौरवका योजना सञ्चालनमा ल्याउने छौं ।’ उत्तरदक्षिण कालीगण्डकी कोरिडोरको स्तरोन्नती गरी जोमसोम–कोरला खण्डलाई बाह्रै महिना सञ्चालनमा ल्याईने नीति तथा कार्यक्रममा उल्लेख छ । कोरिडोरको बागलुङदेखि जोमसोम खण्ड बाह्रै महिना चल्ने अवस्थामा रहेकाले जोमसोम–कोरल्ला खण्ड सञ्चालनमा आउँदा बागलुङलाई फाईदा पुग्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । कोरला नाका सञ्चालनमा ल्याउन कोरिडोरको स्तरोन्नतीले दबाव सिर्जना गर्ने भएकाले पनि बागलुङबासीमा उत्साह छाएको उनको भनाई थियो ।

कालीगण्डकी कोरिडोरको झण्डै ६० किलोमिटर खण्ड बागलुङमा पर्छ । यो सडक स्तरोन्नती हुँदा जिल्लाको दक्षिण क्षेत्रका सर्वसाधारणलाई सहज यातायातको पहुँच पुग्ने पौडेलले दाबी गरे । नीति तथा कार्यक्रमले जिल्लामा गत बर्ष निकै चर्चामा रहेको बलेवा बिमानस्थलको स्तरोन्नतीको बिषयमा पुनः उत्साह जगाएको छ । आन्तरिक बिमानस्थलको स्तरोन्नती गर्ने कार्यक्रममा उल्लेख भएकाले बलेवा बिमानस्थल पक्कि हुनेमा आशा जगाएको बागलुङ नगरपालिका–१४ नारायणस्थान, बलेवाका भरत पौडेलले बताए । ‘सरकारले नीति तथा कार्यक्रममा नै आन्तरिक बिमानस्थलको स्तरोन्नती गर्ने उल्लेख गरेकाले कालोपत्रे हुनेमा आशा जगाएको छ’ पौडेलले भने ‘अहिले स्थगन गरिएका उडानहरु कालोपत्रे गरेर सञ्चालनमा आउनेमा हामी विश्वस्त छौं ।’ बलेवा बिमानस्थल कालोपत्रे गर्न बागलुङ नगरपालिकाले पनि पहल गरिरहेको छ ।

‘अर्थ मन्त्रालयसँग छलफल भएको छ, आगामी बर्ष बिमानस्थल कालोपत्रे हुन्छ’ नगरप्रमुख जनकराज पौडेलले भने ‘नीति तथा कार्यक्रमले यसमा थप उर्जा दिएको छ ।’ अर्थ मन्त्रालय र नागरिक उड्यन प्राधिकरण सकारात्मक रहेकाले केन्द्र सरकारले नै बजेट ल्याउँदा बिमानस्थललाई सम्बोधन गर्ने पौडेलले दावी गरे । जिल्लाको चर्चामै रहेको उत्तरगंगा जलाशयुक्त आयोजना निर्माणको काम सुरु हुनेमा समेत बागलुङमा चर्चा सुरु भएको छ । सरकारले आगामी बर्ष ३ हजार ५ सय मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष राखेकाले यो आयोजनाको समेत काम सुरु हुनेमा आशा पलाएको हो । सन् २०२० लाई नेपाल भ्रमण बर्ष घोषणा गरेकाले बागलुङका पर्यटकीय स्थलहरुमा पर्यटकको संख्या बढ्नेमा यहाँका सर्वसाधारण आशावादी छन् ।

देशभरि १ सय गन्तव्य घोषणा गर्दा बागलुङका ५ वटा पर्यटकिय स्थल समेटिएकाले सरकारको कार्यक्रमले समेत बागलुङबासीलाई टेवा दिने नगरप्रमुख पौडेलले बताए । रोजगारी सिर्जना, सामाजिक सुरक्षा कार्यक्रम लगायतका कार्यक्रमले समेत जनताको तहसम्म प्रभाव राख्ने भएकाले यस्ता कार्यक्रमहरुको कार्यान्वयन तत्काल सुरु गर्नुपर्नेमा स्थानीयले जोड दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->