बागलुङ, २५ वैशाख – जिल्लामा दुइवटा हवाई मैदान छन् । बलेवाको मैदानमा केही समय जहाज आउजाउ थियो । प्राविधिक कारणले उडान अवरुद्ध भएको छ । अर्को ढोरपाटनमा छ । उक्त मैदान अहिले बन्द छ । यहाँ सिकार आरक्षका लागि आउने पर्यटक आउजाउमा प्रयोग गर्थे । पछिल्लो समय हेलिकोप्टर लिएर आएका सिकारीले ब्लकमा पुगेर अवतरण गर्न थालेपछि यो बिमानस्थल पनि अलपत्र जस्तै भएको हो । फेरी ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बिचमा पर्ने अर्नाकोटमा बिमानस्थल निर्माण गर्न बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको अगुवाईमा डिपिआर बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिंगे, सालझण्डी ढोरपाटन मार्गको संगम रहेको अर्नाकोटमा ट्वीनअटर बिमान आउजाउ गर्न सक्ने बिमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि रियल पार्र्ट ईन्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर बनाएको ईन्जिनियर गुरुप्रसाद अधिकारीले बताए । ७ सय मीटर लामो रनवे सहित झण्डै एक किमी लामो मैदान बनाउन सकिने प्राविधिक टोलीले सुझाव दिएको छ । प्राधिकरणका प्राििधकले अघिल्लो बर्ष स्थलगत अध्ययन गरेपछि कन्सल्टेन्सी मार्फत डिपिआर बनाउन दिएको थियो । उक्त कन्सल्टेन्सीले बनाएको डिपिआर प्राधिकरणलाई हस्तान्तण गरिएको अधिकारीलेब ताए । ‘बिमानका लागि ७ सय मीटर लामो र एकसय मीचर चौडाको रनवे, केही पार्किङ बनाउन सकिने संभावना छ’ अधिकारीले भने, ‘समुन्द्री सतहबाट २ हजार मिटर उचाईमा भएकोले पर्यटककीय दृष्टीले पनि उत्तम छ ।’ यो स्थान बुर्तिवाङ बजारदेखि ५ किमी कच्ची सडकमा पुग्न सकिन्छ । ढोरपाटन सिकार आरक्षमा आउने साहसिक पर्यटक र घुम्न आउनेलाई पनि यो उपयुक्त हुने उनले बताए ।
आरक्षभित्र पनि दशकौ अघि बनेको एयरपोर्ट छ । मर्मत र नियमित संचालन नभएकोले यहाँ तारवार लगाएर मात्र राखिएको छ । अर्नाकोटमा बिमानस्थल बनाएमा पदमार्ग मार्फत डेढ घण्टामा ढोरपाटन पुग्न सकिने स्थानीय द्रोण कुँवरले बताए । ‘यहाँ बिमानस्थल बनेमा ढोरपाटन सहित रुकुम, रोल्पा, म्याग्दी र डोल्पा सम्मका बासिन्दाले यात्रा गर्न सक्नेछन्’ कुँवरले भने, ‘सडक संजाललाई स्तरउन्नती गर्न सकियो भने बिरामीहरुले काठमाण्डौ सम्म पुगेर उपचार गर्न पनि यो मार्ग प्रयोग गर्न सक्छन् ।’ ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्दार गर्ने नीति बनाएको छ । यो नीतिलाई पनि हवाई मैदान उपयोगी हुने स्थानीयको मत छ । डिपिआरले २ अर्व रुपैयाँमा ट्वीनअटर बिमान आउने स्तरीय हवाई मैदान बनाउन सकिने सुझाव पनि दिएको छ । प्रारम्भिक अध्ययनका लागि भने ४० लाख खर्च भैसकेको छ । हाल यहाँ दुइवटा कच्ची सडकले जोडिएको छ । मध्यपहाडी लोकमार्ग कालोपत्रेको तयारी भएकोले बिमानस्थल निर्माण गरिने ठाउँसम्म थप सुधार गरेर सहज यात्रा बनाउन पहल गरिने निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । ‘मध्यपहाडीको बिकल्पको बाटो र सालझण्डी सडक छिटो कालोपत्रे गर्न सकियो भने यो उपयोगी हवाई मैदान हुनेछ’ पौडेलले भने, ‘पर्यटक भित्राउने यहाँको उपयोगी माध्यम पनि हवाई मैदान हो ।’
उच्च स्थानमा रहेकोले ढोरपाटन उपत्यका, रुकुम, रोल्पा र प्युठान तर्फको भूगोल पनि हेर्नका लागि धेरै मानिस पुग्ने उनले बताए । यो स्थान सदरमुकाम बागलुङ बजारदेखि १ सय किमी पश्चिममा पर्छ । अहिले ढोरपाटन शिकार आरक्षमा हेलिकोप्टर मार्फत बिदेशी शिकारीहरु पुग्छन् । नेपालीहरुले पैदल मार्ग प्रयोग गरिरहेका छन् । बिमानस्थल निर्माण भएमा मध्यमबर्गीय नेपालीले पनि सहज यात्रा गर्न सक्ने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । गाउँका मानिस सहर पस्ने भन्दा बजारका मानिस गाउँ घुम्न जाने चलन बसाल्न यो उपयोगी हुन्छ’ नेपालीले भने, ‘पूर्वाधारहरु बनेमा स्वास्थ्य सेवा र पर्यटनको बिकास सहजै हुनेछ ।’





