बागलुङ, २७ वैशाख – सामुदायीक विद्यालयमा शिक्षाको गुणस्तर बिषयमा बेला बेलामा चर्चा हुने गरेको छ । सामुदायीक विद्यालयहरुमा शैक्षिक वातावरण नभएको कारण देखाउँदै निजी तथा आवासिय विद्यालयहरुमा आफ्ना विद्यार्थी लैजानेको पनि ठुलै लार्को छ । विद्यालयमा शैक्षिक वातावरण बनाउन र विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन, सरकार, समुदाय, बिद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यालय प्रशासन सबैको उत्तिकै महत्वपूर्ण जिम्मेबारी रहेको हुन्छ । तर हाम्रा सामुदायीक विद्यालयमा त्यो अभ्यास विरलै पाईने गरेको छ ।
स्थानीय सरकार, समुदाय, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिको संयुक्त रहने होभने सामुदायीक विद्यालयलाई पनि नमुना बनाउन सकिन्छ भन्ने उदाहरण हो बागलुङ नगरपालिका–६ लहरेपिपलमा रहेको लहरेपिपल माध्यमिक विद्यालय । एक बर्ष पहिलासम्म विद्यार्थी संख्या पु¥याउन हम्मे–हम्मे रहेको यो विद्यालयले चालु शैक्षिक सत्रमा मात्रै १ सय १२ जना नयाँ विद्यार्थी भर्ना गराएको छ । भर्ना अभियान चलिरहेकाले विद्यार्थीको संख्या अझै बढ्ने प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदीले बताए । विद्यालयको शैक्षिक सुधारका लागि वडा कार्यालयले चासो देखाएपछि विद्यालयप्रति समुदायको चासो बढेको हो ।
बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षमा नगरभित्र नमुना विद्यालय बिकास कार्यक्रम ल्याएर विद्यालयहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको थियो । नगरको कार्यक्रमलाई कार्यान्वयन गर्ने क्रममा वडाध्यक्षले चासो दिएपछि विद्यालयको मुहार फेरीएको छ । विद्यालयमा भौतिक पूर्वाधार सुविद्या सम्पन्न गराउने काम अहिले धमाधम चलिरहेको छ ।





