शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बच्चा बाँसघारीमा, आमा कुरुवा !

बच्चा बाँसघारीमा, आमा कुरुवा !


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७६, सोमबार

पोखरा, ३० वैशाख – आमाको मन कमलो हुन्छ तर परिस्थितिसँग कमलो मन पनि दाश बन्छ । नपत्याउ, पोखरामा सोमबार भएको घटनालाई हेरे हुन्छ ।
पोखरामा बसेर मजदूरी गर्दै आएकी उदयपुरकी एक युवतीले सोमबार बिहान छोरी जन्माइन् । पहिलो लोग्नेले छाडेपछि पोखरा आएकी युवतीले जन्माएकी छोरीको पिताबारे उनैलाई थाहा होला ! छोरी जन्मेपछि उनलाई कसरी पाल्ने भन्ने चिन्ताले सतायो । सामाजिक लान्छनाको डर पनि होला सायद ! पोाखरा–१६, बाटुलेचौरको अम्बिकाटोलमा बस्ने उनले आफूले जन्माएकी छोरीलाई सालनालसहित नजिकैको बाँसघारीमा लगेर छाडिन् । बच्चा नमरोस् तर कसैले लगिदेओस् भन्ने चाहना थियो उनीसँग । बच्चालाई बाँसघारीमा सुताएर उनी कुरेर बसिन् । बिहान ६ बजेतिर जब उताबाट एकजना मान्छे आए, उनी त्यहाँबाट कुलेलम ठोकिन् ।
बिहानै बच्चा देखेपछि बटुवाले होहल्ला गरे । मान्छे जम्मा भए । मान्छे जम्मा भएपछि आमा फेरि त्यहाँ पुगिन् । उनको मनमा सन्तानमोह अझै थियो । उनले भनिन्,‘ओहो, कसले फाल्यो होला, मलाई दिए लगेर पाल्थेँ ।’ घटनास्थलमा प्रहरी पुग्यो । प्रहरीले तत्काल नवजात शिशुलाई लामाचौरमा रहेको मातृशिशु अस्पताल पु¥यायो अनि घटनाको अनुसन्धानमा जुट्यो । अनुसन्धानमा माहिर कास्की प्रहरीका असई सन्तोष सुवेदीको नेतृत्वमा गएको टोलीले वास्तविक आमा पत्ता लगायो । सुत्केरी आमालाई जिल्ला प्रहरी कार्यालय ल्याइयो र तत्काल उपचारको लागि गण्डकी अस्पताल पु¥याइयो । अहिले आमा र बच्चा दुबैको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय आउँदा सुत्केरी आमा बोल्न सक्ने अवस्थामा थिइनन् । तर, अहिले भने आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले ‘मार्न पनि नसक्ने, पाल्न पनि नसक्ने अवस्था भएपछि’ यो घटना भएको अनुमान लगाए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिए अनुसार पतिले छाडेपछि उनी पोखरामा आएर मजदूरी गर्थिन् । मजदूरीकै क्रममा उनको कसैसँग भेट र शारिरीक सम्पर्क भयो । बच्चा जन्मेपछि के गर्ने भन्ने दोधारमा परेकी उनले बच्चा कसैले लगोस् र पालोस् भन्ने ध्येयले बाँसघारीमा छाडिन् तर माया मार्न भने सकिनन् । अहिले बच्चा छाड्ने आमालाई के गर्ने भन्नेबारे प्रहरी नै दोधारमा परेको छ ।
यता पोखरा–२० भलाममा पर्ने कालीखोलाको किनारामा एकजना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । कालीखोलाको झोलुङ्पुल मुनि भेटिएको शव म्याग्दीको मगला गाउँपालिकाको पिपला घर भई हाल पोखरा महानरपालिका–१ बगर बस्ने २२ वर्षीय वीरेन्द्र थापाको भएको प्रहरीले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->