शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अन्नपूर्णको फेदीमा म्याराथनको तयारी

अन्नपूर्णको फेदीमा म्याराथनको तयारी


  • ढोरपाटन संवाददाता
  • बैशाख ३१ २०७६, मंगलबार

पोखरा,३१ बैशाख- जेठको तेस्रो साता अन्नपूर्णको फेदीमा अन्नपूर्ण म्याराथन आयोजना हुने भएको छ । आउँदो जेठको १७ गतेदेखि २० गतेसम्म आयोजित सो म्याराथनको आयोजक सेन्चुरी पर्यटन समिति हो । म्याराथनको यो दोस्रो संस्करण हो । खास दौड जुन ३ अर्थात २० गते नै हुनेछ ।
म्याराथन अन्नपूर्ण आधार शिविरबाट सुरु हुनेछ भने बगर, देउराली,हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, टाडापानी, भैँसीखर्कहुँदै घान्द्रकुमा आई सकिनेछ । यो म्याराथनमा सहभागि हुनेहरु पहिल्यै अन्नपूर्ण आधार शिविरमा पुग्नेछन् । सन् १९५० जुन ३ मा पहिलो पटक ८ हजार मिटरभन्दा अग्लो हिमाल अर्थात अन्नपूर्ण चढेर फ्रान्सेली नागरिक मौरिस हर्जोगले आरोहरण इतिहासमा बनाएको किर्तिमानको सम्झना गर्दै यो म्याराथन आयोजना गरिएको हो । खेल पर्यटनमार्फत अन्नपूर्ण क्षेत्रको प्रचार गर्न म्याराथन आयोजना गरिएको हो । यही अवसरमा मौरिसको अर्धकदको शालिकको अनवारण पनि हुनेछ ।
म्याराथनलाई अन्नर्राष्ट्रिय स्तरको बनाउने र यसमा विदेशी खेलाडीहरुलाई समेत सहभागि गराउने प्रयास थालिएको महोत्सव मूल आयोजक समितिका संयोजक ललित गुरुङले जनाए । उनका अनुसार अन्तर्राष्ट्रिस्तरका खेलाडी सहभागि गराउन नेपाल एथेलेक्टिस संघसँग सहकार्य गरिएको छ । म्याराथनमा पहिलो हुनेले १ लाख ५ हजार, दोस्रोले ७५ हजार, तेस्रोले ५५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार गएको फागुन १५ गतेको हिमआँधीका कारण अन्नपूर्ण आधार शिविर यतिबेला शुन्यप्राय रहेको छ । भएका ४ वटा होटल भत्किएका छन् भने अन्नपात पनि पुरिएको छ । हिउँ नपग्लेकाले पुनर्निमाणमा समस्या भएको छ । आधार शिविर जाने पदयात्रा मार्ग पनि ठाउँठाउँमा बिग्रिएको छ ।
‘स्थानीय पर्यटन व्यवसायीहरुबाट पदयात्रा मार्ग पुनर्निर्माण गरिए पनि होटलहरु बन्न सकेका छैनन्’, अन्नपूर्ण आधार शिविरको अवस्थाबारे जानकारी दिँदै व्यवसायी जगनरास गुरुङले भने,‘आउँदो साउनसम्म सबै काम सकिएला ।’ उनका अनुसार पुनर्निर्माणका लागि हेलिकोप्टर र भरियामार्फत सामानहरु ढुवानी गरिएको छ । यो पटक म्याराथनाम जानेहरुलाई होटलमा सुताउन नसकिने जानकारी पनि उनले दिए । अन्नपूर्ण क्षेत्र पुग्ने धावक र आयोजकहरु पालमुनि सुत्नेछन् भने खानाको भने त्यहाँ व्यवस्था गरिने छ । समुन्द्र सतहदेखि ४ हजार १ सय ३० मिट उचाईमा रहेको आधार शिविर यो सिजनमा ठप्प भएको पनि उनले जानकारी दिए ।
यता अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले म्याराथनसँगै आउँदो जेठ १७ देखि २० गतेसम्म घान्द्रुकमा अन्नपूर्ण सेन्चुरी महोत्सव पनि आयोजना गर्दैछ ।अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापन रहेको महोत्सवमा क्लवस्तरीय भलिबल प्रतियोगिता, पुरुष बास्केटबल,भेट्रान ( ४० वर्ष माथिका ) पुरुष भलिबल, वडास्तरीय रस्साकस्सी, छेलो, माविस्तरीय निबन्ध लेखन प्रतियोगिता समेत समावेश गरिएको छ । महोत्सवको अवसरमा घोडा चढेर घान्द्रुक घुम्ने सुविधा, हिमाली जडिबुटी र त्यसको उपयोगिताबारे जानकारी दिइने,परम्परागत गुरुङ संस्कृतिको जानकारी, झाँक्री प्रर्दशन र अन्य खेलकुदहरु पनि राखिएको आयोजकको भनाई रहेको छ । महोत्सव सम्पन्न गर्न ५ सय १ सदस्यीय मूल व्यवस्थापन समिति र ३१ वटा उपसमितिहरु गठन गरिएको छ भने करिब १ करोड खर्च लाग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->