काठमाडौं, ७ जेठ – आगामी मनसुन प्रदेशअनुसार फरक हुने भएको छ । मुलुकको पूर्वी र मध्यभेगमा केही कमजोर रहने मनसुन पश्चिमी भू-भागमा भने औसत रहने भएको हो । प्रदेश १, २ र ३ का अधिकांश भू-भागसहित प्रदेश ५ को पश्चिमी भेगमा औसतभन्दा कम वर्षा हुने र अन्यत्र औसत वर्षा हुने मौसमविद्हरुको ठहर छ । सार्क मुलुक र म्यानमारसमेत आबद्ध दक्षिण एसियाली हावापानी दृष्टिकोण मञ्च (सास्कोप) ले नेपालसहित दक्षिण एसियाको मनसुन भविष्यवाणी गर्दै यस्तो बताएको हो । नेपाल, बंगलादेश र भुटानको मनसुन मिश्रित प्रकृतिको रहने सास्कोप विज्ञको ठहर छ । तर श्रीलंका र माल्दिभ्सको पूरै, भारतको दक्षिण र उत्तरतर्फ, पाकिस्तानको उत्तरी, उत्तर अफगानिस्तान र म्यानमारको दक्षिणी भू-भागमा औसत वर्षा नाघ्ने विज्ञहरुले बताएका छन् । हालै काठमाडौंमा भएको सास्कोपको १४औं जमघटले नजिकिँदो मनसुनबारे यस्तो प्रक्षेपण गरेको हो ।





